टिचिङको शौचालयमा पनि ठगिन्छन् बिरामी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिचिङको शौचालयमा पनि ठगिन्छन् बिरामी


१९ भाद्र २०७४, सोमबार


काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउन गएका बिरामी र आफन्त शौचालय प्रयोगमा समेत ठगिने गरेका छन् । बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ ।

अस्पतालमा दैनिक १५ सय हाराहारीमा बिरामी जाने गरेका छन् । भिडभाड हुने स्थान (अस्पतालको उत्तर र दक्षिण)मा रहेका शौचालय बिरामीका लागि पासो बनेको चिकित्सकहरू नै बताउँछन् । अस्पतालका युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले सरकारी अस्पतालमा बिरामीले पिसाब र दिसा गरेको आधारमा रकम उठाउनु गैरजिम्मेवारीपन भएको बताए । ‘२० रुपैयाँको टिकट काट्न नसक्ने बिरामी पनि उपचारमा आउँछन् । उनीहरू पिसाबको ५ र दिसाको १० रुपैयाँ तिर्न बाध्य हुन्छन्,’ उनले भने । शौच गरेवापत बिरामीसँग पैसा उठाउने काम सरकारीमध्ये शिक्षण अस्पतालमा मात्रै भएको उनले बताए ।

ठगी : आठगुना बढी असुली

अस्पतालले दुई कर्मचारीलाई प्रतिव्यक्ति मासिक आठ हजार तलब दिएर शौच गरेबापत पैसा उठाउन खटाएको छ । पिसाब गरेको १ र दिसा गरेको २ रुपैयाँ भनेर बाहिर देखिने गरी टाँसिएको छ । तर, पैसा उठाउनेले पिसाब गरेको ५ र दिसा गरेको १० रुपैयाँ उठाउँछन् । रकम संकलन गर्न बसेका ध्रुव नेपालले माथिको आदेशअनुसार रकम संकलन गरेको बताए । ‘रकम संकलन गरेबापत मासिक ८ हजार तलब पाउँछु,’ उनले भने, ‘बिरामी र आफन्तले धेरै गुनासो गर्छन् ।

आफ्नो जिम्मेवारी हो, पूरा गर्नैपर्छ ।’ उनले एउटै बिरामी दिनमा चारपटकसम्म पिसाब फेर्न आउने गरेको बताए । ‘सुरुमा पिसाब फेरेको एक रुपैयाँ र दिसा गरेको दुई रुपैयाँ भनेर देख्ने गरी शौचालयमा टाँसेको थिएँ । पछि अस्पतालबाट मलाई स्पष्टीकरण सोधियो । त्यसैले अहिले ५ रुपैयाँ र १० रुपैयाँ लिन थालेको हुँ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस