पशु बिमा तर्फ कृषकको आकर्षण बढ्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पशु बिमा तर्फ कृषकको आकर्षण बढ्दै


२७ बैशाख २०७४, बुधबार


पोखरा । पशु बिमातर्फ कास्कीका कृषकको आकर्षण बढ्दै गएको छ । ठूलो धनराशि खर्च गरेर ल्याएका पशुको क्षति न्यूनीकरण गर्न कास्कीमा चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म चार हजार २६२ पशुको बिमा गरिएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

सो अवधिमा पशु बिमा गरेका २३२ पशु मरेकामा त्यसबापत कृषकले ८९ लाख १४ हजार क्षतिपूर्ति समेत पाएका छन् ।

पशु बिमा गर्दा ७५ प्रतिशत प्रिमियम सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्नु पर्दछ । सो अवधिमा कृषकले प्रिमियमतर्फ ६७ लाख ७३ हजार २०० बिमा कम्पनीलाई तिरेका छन् । कास्कीमा एनएलजी र सिद्धार्थ इन्सुरेन्सले पशुको बिमा गर्दैआएका छन् ।

उक्त अवधिमा कृषकले एक हजार नौ गाई, एक हजार ५३० भैँसी, दुई हजार बाख्रा, १६२ बङ्गुर र ३८ वटा भेडाको बिमा गरेका थिए । कास्कीमा एक हजार दुई सय भन्दा बढी व्यावसायिक पशुपक्षी फार्म छन् ।

पशुपालक कृषकको राहत र जोखिम घटाउने उद्देश्यले पशु बिमा कार्यक्रम ल्याएपछि यहाँ वि.सं. २०६९ को माघदेखि सो कार्यक्रम शुरु भएको हो । सरकारले सुरुमा प्रिमियम शुल्क ५० प्रतिशत र कृषकले ५० प्रतिशत बुझाउने व्यवस्था गरेको थियो ।

त्यस कार्यक्रममा कृषकहरुले त्यति रुचि नदेखाएपछि गत वर्षदेखि सरकारले नै प्रिमियम शुल्क ७५ प्रतिशत व्यहोर्न थालेबाट कृषकको आकर्षण बढ्न थालेको पशुसेवा कार्यालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस