जसलाई मानिसहरुले समस्याका रुपमा लिएका छन् हामीले त्यसलाई अवसरको रुपमा लिएका छौं « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसलाई मानिसहरुले समस्याका रुपमा लिएका छन् हामीले त्यसलाई अवसरको रुपमा लिएका छौं


प्रशासन विशेष ब्युरो

४ फाल्गुन २०७३, बुधबार


वेरोजगारी समस्या राष्ट्रको जल्दोबल्दो समस्या हो । दैनिक हजारौं युवाहरु कामको खोजीमा विदेश पलायन भइरहेका छन् । विदेश जाने युवाहरुको ताँती हेर्दा लाग्छ नेपाल अदक्ष मजदुर उत्पादन गर्ने मुलुक हो । यसको अर्थ यो देशमा रोजगारीको कुनै अवसर नै छैन र केही गर्नै सकिदैन भन्ने पक्कै होइन । राज्यको तर्फबाट झिनै भएपनि केही प्रयास भने भएको देखिन्छ । वेरोजगारीको अन्त्य गर्दै देशभित्रै रोजगारीको विकास गर्ने उद्येश्यले स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष यस्तै प्रयास मध्ये एक हो । संचालनमा आएको करीब ८ औं वर्ष चलिरहँदा कोषले आफ्नो लक्ष्य प्राप्तीमा कति सफलता हासिल गर्यो, चूनौतिहरु के रहे र यसका भावि कार्यक्रम कस्ता रहेका छन् लगाएत समसामयिक विषयमा सिद्धराज उपाध्यायले कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम प्रसाद दंगालसंग कुराकानी गर्नुभएको छ । प्रस्तुत सम्बादको सम्पादित अंशः

बेरोजगार युवालाई स्वरोजगार बनाउने कोषको उद्देश्य कति प्रतिशतसम्म पुरा भयो भन्न मिल्छ होला ?
ठ्याक्कै प्रतिशतमा भन्न त नसकिएला । रोजगारी सृजना गर्ने काम नियमित रुपमा भइरहेको छ । श्रम बजारमा युवा शक्ति निस्किरहेका छन् । तदनुरुप नै हामीले कामलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ ।

एक गाउँ एक उत्पादन परियोजना पनि सुरु हुँदै रहेछ नि ?  
यो कार्यक्रम हामीले भर्खरै पारित गरेका छौ । यसको कार्यविधि पनि बोर्डबाट अनुमोदन गरेका छौ । प्रत्येक इकाइमा त्यहाँको बिशिष्ट अवस्था हेरेर के उत्पादन गर्न सकिन्छ र कुन उत्पादन राम्रो हुन सक्छ त्यो कुरालाई ध्यान दिएर कार्यक्रम सुरुवात गर्दैछौं ।

पहिलो प्राथमिकतामा के मा रहन्छ ?
मुख्य रुपमा हाम्रो लगानी कृषि क्षेत्रमै देखिन्छ । हाम्रो लगानीको करिव ९० प्रतिशत कृषि क्षेत्रमै गएको छ । त्यसको अतिरिक्त सेवा, साना–साना उद्यमहरु, पर्यटनलगायतका क्षेत्रहरुमा पनि हामीले कर्जा प्रवाह गरेका छौं ।

आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनतर्फ कति सफलता हासिल गरेको छ कोषले ?
निर्यात बढाउने र आयात प्रतिस्थापन गर्ने खालका कार्यक्रम नै हो हामीले सञ्चालन गर्ने । यसमा खास गरिकन एक एकाई एक नमुना व्यवसायबाट केही उपलब्धि हुन्छ की भन्ने हामीलाई लागेको छ । समग्रमा भन्नुपर्दा मुलुकको आर्थिक हिसावले त आय प्रतिस्थापित हुने खालको स्थिति धेरै देखिएको छैन तर पनि योजनाहरु छन्, कार्यक्रमहरु छन् । गर्दै गइएको छ ।

हालसम्म कोषबाट कति रकम लगानी भइसकेको छ र लगानी अनुशारको उपलब्धी भयो कि भएन ?
हामीले अहिलेसम्म करिव साँढे सात अर्ब बरावरको कर्जा स्वीकृत गरेका छौं । त्यसबाट स्वरोजगार गराउने काम भएको छ । त्यो वीचमा करिव ४० हजार युवाहरुलाई स्वरोजगार बनाउने काम सम्पन्न भएको छ । अब यो बर्ष करिव ५० हजार वेरोजगार युवालाई स्वरोजगार बनाउने योजना छ । हामी सफल हुन्छौ भन्ने लागेरै यो योजनाहरु बनाएको हो ।

विपन्न तथा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न निश्चित समयका लागि दिइएको बिना धितो ऋण असुलीमा केही समस्या देखिएको छ, कसरी उठाउने योजना बनाउनु भएको छ ?
समस्याहरु छन् । साना सहकारीहरुले तिरेकै अवस्था छ । केही ठूला सहकारीहरुले यो संस्था स्थापनाकालमा लगेको कर्जा चाहिं जोखिममा परेको अवस्था छ । त्यसलाई हामीले आफ्नो कानूनी प्रकृया अनुसार असुल उपर गराउने कामहरु गरिरहेका छौ ।

त्यति सहजै उठ्ने सम्भावना कतिको देख्नुहुन्छ ?
सहज त छैन । तरपनि सरकारको सम्पति र जनताको पैसालाई जुन उद्देश्यका साथ लिइएको हो त्यो उद्देश्य बिपरित बद्नियत ढंगले दुरुपयोग गरेको, हिनामिना भएको छ भने कानून बमोजिम असुल उपर गर्छौ । यसका अतिरिक्त अन्य कारवाही पनि अगाडि बढाइसकिएको छ ।

कोषको रकम दुरुपयोग भयो भन्ने कुरा पनि उठिरहन्छ, खासमा कुरा के हो ? साँच्चिकै दुरुपयोग भएकै हो त ? होइन भने त्यसको आधार बताइदिनुहोस् न ?
सुरुको अवस्थामा कर्जा प्रवाह गर्दा केही कमि कमजोरी भएको भएपनि त्यसयता कामहरु राम्ररी भएका छन् र अहिले म आइसकेपछि मैले स्वीकृत गरेका कर्जामा त्यस्तो कुनै समस्या आएको छैन र आउँदैन भन्ने मलाई लाग्छ । किनभने हामीले निश्चित मापदण्डहरु बनाएका छौ । ती निश्चित मापदण्डहरु पुरा गर्ने सहकारी संस्था, बैंक वित्तिय संस्थालाई मात्र हामीले ऋण प्रवाह गरेको हुनाले जोखिम ज्यादै कम होला भन्ने मलाई लाग्छ ।

गरिवको नाममा टाठाबाठाको रजार्इँ भएको  पनि देखिन्छ नि ?
त्यस्तो छैन । त्यस्तो भएको भए त्यो विषय उठाउनु पर्छ, एक्स्पोज पनि गर्नुपर्छ । तर हामीले यस बीचमा गरेका जुन सुधारका कुराहरु, राम्रा कामहरु र उपलब्धीहरु छन् जे चिज हामीले हासिल गरिरहेका छौ । ति कुराहरु ओझेलमा पर्नु हँुदैन, मेरो यत्ति मात्र कुरा हो ।

बेरोजगारीका कारण युवामा छाउँदै गरेको निरासाले पारेको नकारात्मक भावनालाई कसरी सम्बोधन गर्न सकिएला ?
त्यही कुरालाई सम्बोधन गर्नलाई नै यो कुरा ल्याएर आएका हौं । एक इकाइ एक नमुना व्यवसायका अतिरिक्त दु्रत कर्जा कार्यक्रम ल्याएका छौ । यो कर्जा भनेको सिधै बैंक बित्तिय संस्थाबाट कर्जा प्रवाह गर्ने कार्यक्रम हो । यो कार्यक्रममा स्वरोजगार हुन चाहने बेरोजगार युवाहरुले आवेदन भरिसकेपछि बैंक बित्तिय संस्थाहरुले तुरुन्तै कर्जा उपलब्ध गराउँछन् । ढिला यो झण्झटिलो प्रकृया पार गर्नुपर्ने अवस्थाको अब अन्त्य हुँदै जाने छ प्रादेशिकस्तरमा पनि कार्यालयहरु स्थापना गर्ने हाम्रो योजना छ । त्यसले सहजता ल्याउने छ र हामीले छिटो छरितो ढंगले काम सम्पन्न गर्ने छौं ।

यो द्रुत कर्जाका बारेमा अलि बिस्तृत रुपमा भनिदिनुस् न ।
द्रुत भनेको छिटो भन्ने बुझिन्छ । यथासक्य छिटो कर्जा प्राप्त गर्ने । त्यो भनेको बैंक वित्तिय संस्थाबाट हामीले कर्जा प्रवाह गर्छौ । अहिलेसम्म हामीले बिपन्न क्षेत्र कर्जा लगायतका अरु कार्यक्रमहरु सहकारी संस्थाहरु मार्फत लगानी गरिएका थिए । त्यो कर्जा प्राप्त गर्न कर्जाग्राहीलाई निकै समय लाग्ने अवस्था छ । किनभने पचहत्तरै जिल्लामा अनुगमन गर्न जानुपर्ने, एकैचोटी जानलाई कर्मचारीको अभाव हुने, यसमा स्वरोजगार हुन चाहने व्यक्तिले आफ्नो व्यवसायिक प्रस्ताव नजिकको बैंक बित्तिय संस्थाहरुमा आवेदन गर्ने, त्यसपछि सम्झौता गरेर ऋण बित्तिय संस्थाहरुलाई पैसा दिन्छौ वा बैंक बित्तिय संस्थाहरुले उनीहरुलाई कर्जा प्रवाह गर्छन् । हामीले छिटो भन्दा छिटो कर्जा प्रवाह गर्ने योजना बनाएका छौ ।

कोषले संचालन गरेका मुख्य मुख्य कार्यक्रमहरु के के हुन् र लगानीको स्थिति के छ ?
एउटा बिपन्न क्षेत्र कर्जा हो । जुन कर्जा सिमान्तकृत समुदाय, पिछडिएको समुदाय, गरिव समुदाय, आर्थिक हिसावले पिछडीएको, आजआर्जन कमजोर भएको, महिला दलित, आदिबासि, जनजाति समुदायमा बिनाधितो कर्जा दिइन्छ । दोस्रो कार्यक्रम एक इकाइ एक नमुना व्यवसाय कार्यक्रम हो । अर्को कार्यक्रम द्रुत ऋण कर्जा प्रवाह गर्ने यी तीनवटा कार्यक्रम हुन् । जहाँसम्म लगानीको कुरा गर्नुभयो, लगानी हामीले प्रयाप्त गरेका छैनौं । तर यसलाई हामीले द्रुत गतिमा अगाडि बढाउँदै छौं । यो बर्ष हामीले ५० हजार युवाहरुलाई स्वरोजगार बनाउने योजना छ ।

बिगतमा देखिएका कमी कमजोरी सुधार्न र हालसम्मका उपलब्धिहरु प्रभावकारी रुपले अगाडि बढाउन यहाँले के सोचिराख्नु भएको छ ?
मुलुकमा दिन प्रतिदिन बेरोजगारहरु श्रम बजारमा उपस्थित छन् । बिदेशतिर कामको खोजीमा पलायन भइरहेका छन् । त्यसैले यो अवस्थालाई कोषले स्वरोजगार सिर्जन गर्ने एक अवसरको रुपमा लिएका छौं र स्वरोजगार सृजना गर्नका लागि ति युवाहरुलाई आकर्षण गर्नका लागि अनेक कार्यक्रमहरु, अनेक सुविधाहरु चाहे त्यो व्याज अनुदान दिएर होस् वा व्यवसाय र व्यवसायीको बिमा गरेर होस् वा सीपमुलक तालिम उपलब्ध गराएर होस् वा सस्तो कर्जा उपलव्ध गराएर होस् । अनेक कार्यक्रमहरु हामीले अगाडि सारेका छौ तर पनि हाम्रो योजना अनुसार सरकारको योजना र चाहना अनुसार युवाहरुलाई अझै पनि हामीले मुलुक भित्र अड्याएर रोजगारी सृजना गर्न सकेका छैनौं । त्यो हाम्रो एउटा स्थिति हो तर सधैंभरी त्यही स्थिति रहँदैन । अब हामीले राम्रा कार्यक्रमहरु अगाडि सारेका छौं । युवाहरु पक्कै पनि हाम्रो कार्यक्रमप्रति आकर्षित भएर उत्पादनमा लाग्नेछन् ।

नीति निर्माण तहमा रहेका निकायहरु, कार्यान्वयन तहमा रहेका संस्थाहरु र सरोकारवालाहरुबाट गरिएको अपेक्षा पुरा भएको छ ?
खासगरी स्थानीयस्तरमा हाम्रा सहयोगी संघ संस्था छन् ती निजी क्षेत्रका पनि छन्, सार्वजनिक जीवनका पनि छन्, सार्वजनिक प्रशासन अन्तर्गतका पनि छन् तिनीहरुबाट पर्याप्त सहयोग प्राप्त भएकै छ । सँगसँगै केन्द्रीयस्तरमा पनि खासगरी अर्थ मन्त्रालयबाट सकरात्मक कामहरु भइरहेका छन् त्यसैले हामी उत्साही छौ र सरकारले बनाएको ५० हजार स्वरोजगार गर्ने योजनालाई पुरा गर्ने हाम्रो संकल्प छ ।

यहाँसँग राष्ट्रिय योजनाको आयोगको पनि अनुभव छ र आयोगको टिममा अब्बल भूमिका निभाउनु भएको थियो, अब यूवा स्वरोजगारमा थप गर्नुपर्ने सुधार तथा नयाँ योजना पनि केही छन् कि ?
हामीसँग अवसरै अवसर छन् । जसलाई मानिसहरुले समस्याका रुपमा लिएका छन् हामीले त्यसलाई अवसरको रुपमा लिएका छौं । हामीसँग पर्याप्त मात्रामा साधन स्रोत छ ।  हामी चाहिं अगाडि बढी रहेका छांै । हाम्रो प्रतिबद्धता, खासमा कोषमा काम गरिरहेका कर्मचारीहरुको कामप्रतिको निष्ठा हामीले प्राप्त गरिरहेका छौ । यसको लागि केही समय त निश्चित रुपमा पर्खिनुपर्छ । त्यो परिणामहरु प्राप्त हुन सुरु भएको छ । त्यो एकदम सकरात्मक दिशातिर गइरहेको छ । हामी अगाडि बढ्न सक्छौ । श्रम बजारमा उपस्थित रहेको बेरोजगार यही काममा लगाउन सक्छौ । कुनै दिन सक्छौ । त्यो तत्कालै आजै भोलि नसके पनि क्रमशः हामी त्यो दिशातर्फ गइरहेका छौं । अब धेरै पर्खिन पर्दैन । आगामी बर्षदेखि प्रतिवर्ष एक लाखका दरले स्वरोजगार सिर्जना गर्ने हाम्रो प्रतिबद्धता छ । नीतिगत हिसावले र कार्यक्रमका हिसावले पनि संस्थागत बिकास गर्दै लैजाने सन्दर्भमा पनि हामी सबैको सहयोगको अपेक्षा गर्दछौं ।

यहाँले अघि नै पनि भनिसक्नु भएको छ कि हामीले गरेका राम्रा, नयाँ र उपलब्धीमूलक कामहरुलाई पुराना कमि कमजोरीहरुले ओझेलमा पारिनु हुँदैन भनेर, अब बुँदागतरुपमा भनिदिनुहोस् कि तपाईले ल्याएका ति राम्रा, नयाँ र उपलब्धीहरु के के हुन् त ?
यो वीचमा हामीले गरेका सुधार भनेको वेरोजगार युवाहरुलाइ बिनाधितो दुईलाख उपलब्ध गराउथ्यौं, त्यो दुई लाखको सिमालाई बढाएर पाँच लाख पु¥याएका छौं । यो एउटा सुधारको कुरा हो । सहकारीलाई हामीले बढीमा पचास लाख दिन्थ्यौं । मापडण्ड पुरा गर्ने सहकारीहरु जो सँग हामीले काम गरिसकेका छौं, राम्रोसँग जान्दछौं, बुझ्दछौं र राम्रो काम गरेका छन् ती सहकारीहरुलाई एक करोड दिने र नयाँ हाम्रो पुरानै कार्यक्रम अनुसार पचास लाख उपलब्ध गराउने गरेका छौं ।

सँगसँगै यो वीचमा हामीले व्याजदर पनि घटाएका छौं । बिगतमा सहकारीलाई सात प्रतिशतमा दिन्थ्यौं भने यस पटक हामीले सहकारीहरुलाई ५ प्रतिशतमा, बैंक बित्तिय संस्थाहरुलाई चार प्रतिशतमा उपलब्ध गराउने निर्णय गरिसकेका छौं । उनीहरुले व्यवसायीलाई दश प्रतिशतमा उपलब्ध गराउँछन् । त्यसैगरी ६० प्रतिशत व्याज अनुदान दिने कार्यक्रम निरन्तर छ । किस्ता पनि घटाएका छौं । बिगतमा कुनै सहकारी संस्थासंग कर्जाको सम्झौता गर्यौंभने हामीले गरेको सम्झौतामा तीन किस्ता गरेर रकम उपलब्ध गराउथ्यौ । प्रत्येक किस्ताको अनुगमन गर्न झन्झटिलो भएको र व्यवसायीहरुलाई पनि ठोस रकम एकै पटक उपलब्ध नहुने भएको कारणले गर्दा दुई पटकमा पचास÷पचास प्रतिशत ऋण उपलब्ध गराउने एउटा महत्वपूर्ण सुधार गरेका छौं । त्यसैगरी बिमाको प्रिमियम पनि हामीले बढाई दिएका छौं जसले गर्दा सबै व्यवसायीहरुले बिमा गर्न सक्छन् र बिमा कम्पनिहरुले पनि बिगतमा लामोसमयसम्म उनीहरुले बिमा प्रिमियम बढाउने माग गरिरहेका थिए । प्रादेशिकस्तरमा कार्यालयहरु राख्ने र कर्मचारी दरबन्दी सिर्जना गर्ने, कर्मचारीहरुलाई पनि मोटिभेसन गर्ने गराउने कामहरु गरिरहेका छौ ताकी हामीले हाम्रो लक्ष्य प्राप्त गर्न सकौं । संचालन नियमावली संशोधन अन्तिम चरणमा पुर्याएका छौं ।

तपाइको कार्यकालमा के त्यस्तो काम गर्दै हुनुहुन्छ, जसले तपाइलाई जुगौ दिनसम्म सम्झिरहने छन् ?
नियमित कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै लैजाने संगसंगै यस वर्ष ५० हजार स्वरोजगार सृजना गर्ने र अर्को बर्ष एक लाख गर्छौ । तेस्रो बर्ष हामीले दुई लाख गर्छौ । यसलाई मल्टिपल गर्दै लैजाने र मुलुकमा स्वरोजगार सिर्जना गर्ने हो । त्यसका लागि अलिकति समय चाहिन्छ । हामीले यसवीच धेरै तयारीहरु गरेका छौ । नीतिगत हिसावले स्पष्टता हुने कुराहरु छन्, कार्यक्रम बनाउने कुराहरु छन्, कार्यविधि र निर्देशिकाहरु बनाउने कुराहरु छन्, त्यसैगरी कतिपय ऐन नियमहरु संशोधन गर्नुपर्ने कुराहरु छन् ।

काम गर्दै जाँदा देखिएका खास खास चुनौतिहरु के के हुन् ?
कर्जा प्रवाहको जतिसुकै कुरा गरेपनि बिना धितो दिनुपर्ने भएको हुनाले जोखिममा रहन सक्छ । त्यो एउटा हाम्रो समस्या र चुनौती हो । अर्कोकुरा स्थानीयस्तरमा संयन्त्र नहुँदा पनि समस्या देखिएको छ । जिल्लास्तरमा पनि हाम्रो संयन्त्र हुन्थ्यो, कार्यालय र कर्मचारी हुन्थे भने अनुगमनको कार्यलाई प्रभावकारी ढंगले अगाढि बढाउन सक्थ्यौं ।

अन्यमा, आम पाठकलाई के भन्न चाहनुहुन्छ ?
म युवाहरुलाई आग्रह गर्न चाहन्छु की हामीकहाँ सस्तोमा कर्जा उपलब्ध छ । कर्जा लिनुहोस् । के जानेको छ ? के गर्ने योजना छ ? के लक्ष्य लिएको छ ? आफ्नो व्यवसायिक प्रस्ताव वित्तिय संस्था र सहकारीमा प्रस्ताव गर्नुहोस् हामीले सस्तोमा कर्जा उपलब्ध गराएका छौं जसको कारण तपाई व्यवसायी बन्न सक्नुहुन्छ, उद्यमी बन्न सक्नुहुन्छ । यहीं पौरख गर्नुपर्छ, यहीं पसिना बगाउनु पर्छ । हाम्रो स्वरोजगार पनि यही हुन्छ । मुलुकलाई पनि हामीले सम्मृद्ध बनाउन सक्छौं । बाहिर जाने युवाले जे भोगिरहेका छन त्यत्तिको मेहनत र परिश्रम यही गर्ने हो भने हामी यही आफु पनि सम्पन्न हुनसक्छौं र मुलुक पनि बन्छ । हाम्रो आफ्नो समस्या पनि सम्बोधन गर्न सक्छौं । म यही कुरा अनुरोध गर्न चाहन्छु ।

Tags :
प्रतिक्रिया दिनुहोस