काठमाडौँ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार र विचार प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
छिमेकी मुलुकहरूसँगको नेपालको सम्बन्धलाई लिएर केही समययता सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भएका समाचारबारे सरकारको धारणा स्पष्ट गर्न परराष्ट्र मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा जनमानसमा द्विविधा उत्पन्न गर्ने खालका खबर नलेख्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।
देशको मर्यादा र गरिमामा आँच आउने समाचार एवम् विचार सम्प्रेषण तथा टीकाटिप्पणी गर्दा विषयको गाम्भीर्य र संवेदनशीलतालाई ख्याल गर्दै मुलुकको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धन गर्नु सम्मानित सञ्चार क्षेत्रको पनि दायित्व हो भन्ने आफ्नो बुझाइ रहेको उहाँले बताउनुभयो ।
“परराष्ट्रजस्तो अति संवेदनशील विषयमा जनमानसमा भ्रम सिर्जना गर्ने समाचार र टिप्पणीले नेपालको दीर्घकालीन हित गर्दैन”– पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएयता चीनसँगको नेपालको सम्बन्धमा केही चिसोपन आएको भन्ने सार्वजनिक सञ्चारमाध्यमका टीकाटिप्पणीको खण्डन गर्दै मन्त्री महतले भन्नुभयो ।
छिमेकी मुलुकका साथै विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्दै नेपालको विकासमा योगदान गर्न परराष्ट्र मन्त्रालय अहोरात्र लागिपरेको स्पष्ट गर्दै यसै महिना मङ्गोलिया र चीनबाट उच्च तहमा भएका भ्रमण लामो समयअघि नै निर्धारण भएका उहाँले बताउनुभयो ।
नेपालको राष्ट्रिय स्वार्थमा केन्द्रित रहेर छिमेकी र अन्य राष्ट्रसँगको सम्बन्धलाई समुन्नत, सुदृढ र सुमधुर तुल्याउन सरकार लागिपरेको मन्त्री महतले बताउनुभयो ।
नेपाली सेनालाई भारतीय सेनाअन्तर्गत राष्ट्रसङ्घीय शान्ति सेनामा पठाउन प्रयास भइरहेको भन्ने समाचारको नेपाली सेनाले खण्डन गरिसकेको जानकारी दिँदै परराष्ट्रमन्त्रीले नेपाली सेनाले राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भई विश्व शान्तिस्थापनामा काम गर्ने भएकाले कुनै देशको मातहतमा काम गर्ने वा गर्नुपर्ने भन्ने भनाइमा कुनै सत्यता नभएको बताउनुभयो ।
अघिल्लो सरकारले चीनसँग गरेका सन्धिसम्झौता कार्यान्वयन गर्न मन्त्रालय क्रियाशील रहेको र त्यस दिशामा दुवै देशका अधिकारी निरन्तर सम्पर्क र संवादमा रहेका जानकारी दिँदै उहाँले चीनसँगको सचिवस्तरीय संयन्त्रको बैठक चाँडोभन्दा चाँडो आयोजना गर्ने चाहनाका साथ बेइजिङसँग पत्रचार भइसकेको बताउनुभयो ।
चीनसँग सम्पर्क विस्तारका थप नाका खोल्न सरकार लागिपरेको र सम्बद्ध सरकारी निकायसँग गहन छलफल जारी रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “कोदारी राजमार्ग शीघ्र सञ्चालन गर्ने प्रतिबद्धता चीनबाट आएको छ ।”
कुनै पनि मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता दोहोर्याउँदै परराष्ट्रमन्त्रीले एउटा मुलुकलाई खुसी पार्ने अर्कोलाई चिढ्याउने काम नेपालले कदापि नगर्ने प्रष्ट्याउनुभयो ।
खाडी राष्ट्र र मलेसियामा रहेका नेपाली श्रमिकको हकहित प्रवद्र्धन गर्न सरकार लागिपरेको स्पष्ट गर्दै उहाँले ती क्षेत्रमा रहेका नेपाली नियोगलाई हरदम क्रियाशील तुल्याइएको बताउनुभयो । रासस