आश्विन ३० गते, २०७५

सामान्य ज्ञानको अध्ययनलाई कसरी प्रभावकारी बनाउने ?

लोक सेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने आम विद्यार्थीहरूको समस्याको रूपमा सामान्यज्ञान तथा वस्तुगत प्रश्नहरूको अध्ययनलाई लिन सकिन्छ । वर्तमान विज्ञान तथा प्रविधिको कारणले गर्दा विश्व परिवेश साँघुरो घेराबाट मुक्त हुँदै क्रमशः विस्तृत हुँदैछ । यही अवस्थालाई मध्यनजर गर्दै हामीले पनि आफ्नो पढाइ, लेखाइ तथा अन्य सीपहरूमा क्रमिक रूपमा सुधार गर्न सक्यौं भने हर क्षेत्रमा सफलता चाँडै हात पर्न सक्छ ।

सामान्य ज्ञानले हामीलाई विश्व परिवेशमा भइरहेका ताजा ताजा घटनाक्रमहरूको बारेमा अपडेट गराइराख्छ र ती सबैको बारेमा सुक्ष्मदेखि विस्तृतसम्म जानकारी राख्न सहयोग गराउँछ । कुनै पनि व्यक्ति जन्मजात जान्ने भएर आउँदैन, उसलाई जान्ने बनाउने काम त उसको नजिकको वातावरणले गर्छ । अतः हामीले आफूलाई अब्बल देखाउनुपर्ने बेलामा आफु नजिकको वातावरण कस्तो छ, म कस्तो वातावरणमा रहँदै आएको रहेछु आदि कुरा मनन गर्न जरुरी छ । आफ्नो सीप विकास गर्ने कार्यमा धेरै फ्याक्टरहरूले भूमिका खेल्न सक्छन्, त्यसैले ती फ्याक्टरहरूलाई सही ठाउँमा उपयोग गरेर आफ्नो पढाइको वातावरण सुधार्नु जरुरी हुन्छ ।

सामान्य ज्ञान पढाइलाई प्रभावकारी बनाउने केही तरिकाहरू मैले शिक्षक सेवा र लोक सेवा तयारी गर्दाबखत आफूले अनुभव गरेका आधारमा पढ्ने केही तरिकाहरू यहाँ प्रस्तुत गरेको छु ।

  • प्रतिष्पर्धात्मक परीक्षाको तयारी सुरु गर्नुभन्दा पहिले आफू कुन लेभलको परीक्षा दिने हो ? त्यसको लागि कस्ता–कस्ता सन्दर्भ स्रोत सामग्रीहरू आवश्यक पर्छन् भनेर जान्न जरुरी छ ।
  • सामान्य ज्ञान जो कोहीले पढ्न सक्दैन । जसले पढ्छ त्यो भोकले पढ्छ, त्यो भोक तपाईँसँग पनि हुन जरुरी छ । सामान्यज्ञानप्रति तपाईँको आफ्नो उत्सुकता क्षमता अभिवृद्धि गर्न जरुरी छ ।
  • तयारी सुरु गर्दा एउटा किताबलाई आधार बनाएर पढ्न सुरु गर्नुपर्छ, जसले गर्दा पढाइमा एकाग्रता ल्याउन सकिन्छ ।
  • तिथिमितिका कुराहरूलाई जसले पनि अप्ठ्यारो मान्ने गर्छन्, तर ती तिथिमितिहरू जे पढ्दै छौं त्यो कुरालाई आफू वा आफूलाई मनपर्ने केही कुरामा लिंक गरेर पढियो भने सहज बन्न सक्छ । जस्तै : निजामती सेवा ऐन कहिले जारी भयो ? भन्ने प्रश्नलाई आफ्नो जन्ममिति वा अन्य कोहीको विशेष घटनासँग लिंक गर्न सकिन्छ । त्यो विशेष घटनालाई आधार बनाएर त्यसमा नै टेकेर अरु मितिहरू कण्ठ गर्न सकिन्छ । अर्को वर्ष नियमावली आयो, २०५० सालमा । त्यतिबेला दिदीले स्कुल सुरु गरेकी थिइन्, यस्तै यस्तै ।
  • विद्यालय तहमा पढेका कुराहरूलाई सम्झने कोशिस गर्नुहोस् । ती कुराहरूसँग सम्बन्धित प्रश्नहरूलाई तुलनात्मक रूपमा हामी सहज ढंगले पढ्न सक्छौं । त्यही कुराका एडभान्स स्वरूपका वा तीसँग सम्बन्धित थप जानकारी हासिल गर्ने उत्प्रेरणा हामीमा स्वतः पैदा हुन्छ । जस्तै : क्लोरो फ्लो रो कार्बनका बारेमा कक्षा ९ र १० मा पढेकाभन्दा थप कुरा पढ्न हामीलाई छुट्टै इनर्जी आउँछ ।
  • सम्भव भएसम्म दिनमा कम्तीमा दुई वटा दैनिक पत्रिकाहरू हेर्ने बानी बसाल्नुहोस् । जसले तपाईँलाई देश–परदेशमा भइरहेका र हुने विभिन्न घटनाक्रम र कार्यक्रमको जानकारी दिन्छ । जस्तै : विभिन्न सम्मेलनहरू, राष्ट्रियदेखि विश्वस्तरसम्मका राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, खेलकुद, कला/साहित्यसम्मका कुराहरू जानकारी रहन्छ । विभिन्न विद्धानहरूका विचारहरू र सम्पादकीय पनि नछुटाउनुहोस् ।
  • कम्तीमा पनि बिहान ६ बजेको राष्ट्रियस्तरको खबर र बेलुकाको ८ः४५ बजेको बिबिसी सुन्ने र महत्वपूर्ण कुराहरू टिप्ने बानी बसाल्नुहोस् । यसले तपाईँलाई स्वावलम्बी बनाउँछ र परीक्षाअघि समसामयिक घटनाक्रमका पुस्तकहरू किनिराख्नुपर्दैन ।
  • फुर्सदको समयलाई उपयोग गर्न सामाजिक संजालहरूको प्रयोग गर्दा पनि विभिन्न पब्लिकेशनहरूको इ–संस्करणहरू, प्रख्यात व्यक्तित्वहरूको लेखविचार तथा सामान्यज्ञान सम्बन्धी प्रश्नहरू सोधिइराख्ने पोर्टलहरू, पेजहरू, गु्रपहरू आदिमा नजर डुलाउनुहोस् ।
  • एकैपटकमा म ४–५ घण्टासम्म लगातार पढ्छु भनेर मुर्खता नगर्नुहोस्, त्यसरी पढेका कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छ, मस्तिष्कले भण्डारण गर्न सक्दैन । बरु थोरै पढ्दै, रेस्ट गर्दै बीचमा अर्को सानो काममा लाग्दै फेरि पढ्दै गर्नुहोस्, यसले तपाईँको समय व्यवस्थापन कलालाई समेत प्रष्फुटन गर्न सहयोग गर्छ ।
  • वर्तमान युग विज्ञान तथा प्रविधिको युग हो । त्यसैकारण आफुलाई पनि प्रविधिमैत्री बनाउनुहोस् जसले गर्दा थोरै समयको प्रयोग गरी धेरै ज्ञान हासिल गर्न सकिन्छ । इन्टरनेटको सहयोगले हामी विश्व परिवेशलाई छिनभरमै नियाल्न सक्छौं, उदाहरणको लागि गुगल, विकिपिडिया, इकोनोमिस्ट, बिबिसी, सिएनएन, द वल्र्ड फ्याक्टबुक आदि वेबसाइटले हामीले खोजेका हर प्रश्नहरूको जवाफ दिन्छन् ।
  • प्रतियोगितात्मक सामान्यज्ञान पढ्नेले भुल्न नहुने कुरा भनेको पाठ्यक्रम अनुसारको अध्ययन पनि हो । पाठ्यक्रममा समावेश भएका विषयवस्तुहरूलाई ध्यान दिएर परीक्षामैत्री बनेर अध्ययन गर्न सकिन्छ । जस्तै : नेपालको भूगोलबाट दुई र इतिहासबाट चार प्रश्न आउने रहेछ भने इतिहासमा अलि धेरै समय दिनुपपर्‍यो
  • सामान्यज्ञान पढ्दा सम्झने विभिन्न शैलीहरू हुन्छन् । तीमध्येको एक शैली सूत्र शैली पनि हो । जसमा पढेका विभिन्न विषयवस्तुहरूको संकेतहरूलाई मिसाएर सूत्र बनाइन्छ । जस्तै : नदीको स्थायित्व र मुहानको स्रोतका आधारमा नेपालका दोस्रो स्तरका नदी कुन–कुन हुन् ? बाग्मती, मेची, कन्काई, राप्ती, कमला, तिनाउ, बाणगंगा…आदि । यसलाई अगाडिका अक्षरहरु झिकेर सम्झनलायक सूत्र बनाउन सकिन्छ । जुन यसप्रकार छ– बाकमेराकतिबा ।
  • आफूले जानेका वा कण्ठ पारेका विषयवस्तुहरूलाई साथीहरूसँग पढाए जसरी सेयर गर्नुहोस्, जसबाट तपाईँको कन्फिडेन्स अझै उच्च हुन्छ र आगामी दिनहरूमा पनि स्मरण भइरहन्छ । अर्को पटक पनि पढाउन सक्ने होऊँजस्तो लाग्छ ।
  • पढेका कुराहरूलाई लेखेर वा टिपेर राख्ने अनि आफू बस्ने कोठामा अरु काम गर्दा समेत नजर लाउन सकिने हिसावले टाँस्ने गर्नुभयो भने झट्ट हेर्दा पनि याद हुन थाल्छ ।
  • अर्को महत्वपूर्ण कुरा भनेको तपाईँको मानसिकता हो । यदि तपाईँले जहिले पनि म पढ्न सक्दिनँ, यत्रा ठेली कसरी पढ्ने भनेर नकारात्मक मात्र सोच्न थाल्नुभयो भने तपाईँको पढाइसँगै स्वास्थ्य समेत बिग्रन थाल्छ । त्यसैले पढाइ, मनोरञ्जन, खेलकुदका साथै परिवारको लागि समय र सुत्ने उठ्ने समयहरू व्यवस्थित र नियमित बनाउने कोसिस गर्नुहोस् । जसबाट तपाईँले जुनसुकै क्षेत्रमा सफलता हासिल गर्ने वातावरण बन्नेछ ।
आश्विन ११ गते, २०७५ - ०७ः०० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

underhealth
gsdfs dfg