दश मुक्तक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दश मुक्तक


१९ श्रावण २०७५, शनिबार


मुक्तक

१.
छोरी बुहारी माथिको दादागिरी कति सहनु
बलात्कृत भएका छन् घरिघरि कति सहनु

छोरीलाई अब किताबसँगै बन्दुक थमाइदिउ
नारी अस्मितामाथिको मनपरी कति सहनु

२.
शराब पिउनै पर्दैन हामीलाई सपनाले मत्याएको छ
जिन्दगीमा स–सानै कुराले जिस्क्याएको छ, फकाएको छ

तमाम विकृतिहरू छन् जो यो समाजबाट हटाउनैपर्ने
यस कारण पनि ईश्वरले हामीलाई यो धर्तीमा पठाएको छ

३.
घटनामा उसैको ठेकेदारी देखियो उही व्यभिचारी देखियो
देशको गौरव ठानेको मान्छे नै आज अत्याचारी देखियो

ए ! आमा दाम्लो लिएर आऊ अब तिम्रो कोखलाई न्याय दिलाउनुछ
महान बनाउँला भनेर हुर्काएको तिम्रो छोरो त बलात्कारी देखियो

४.
सरकारले विकासको नाममा कस्तो सिन्को भाँच्छ थाहै हुँदैन
राज्यको ढिकुटी रित्तो छ भन्छन्, कसले मास्छ थाहै हुँदैन

सत्तावालाको जयकार विपक्षीहरूको खबरदारी चलिरहन्छ सधैं
जनताको ख्यालचाहिँ खै कसले राख्छ थाहै हुँदैन

५.
कैले धुरुक्कै रुवाउनेछन् कैले भुतुक्कै हसाउने छन्
सन्सारको खेल यस्तै हो भन्नेछन् सुख–दुःखमा रमाउनेछन्

आजपो यिनै लड्लान भन्छु, भोकाउलान् भन्छु मरिहत्ते गर्छु
भोलि त यिनैले बाटो देखाउनेछन् हात समातेर डोर्याउनेछन्

६.
बाचुन्जेल प्रहार खेपिराखोस्, नथाकोस् तब पो मजा मान्थ्यौं
काम गरिराखोस् सुख सुविधा केही नमागोस् तब पो मजा मान्थ्यौं

अन्याय खेप्नै नसक्ने मान्छे परियो देवी बन्नै नसक्ने परियो
सबैले गाली गरून् मलाई मतलब नलागोस् तब पो मजा मान्थ्यौं

७.
कहिले शालिक जस्तो, कहिले दार्शनिक जस्तो
यो माया भन्ने चिज पनि सेवकजस्तो मालिक जस्तो

हाल खबर के सोधिराख्नु सन्चो/बिसन्चो के जान्नु
वर्तमान हराएको नाता सम्बन्ध पनि त अतीत जस्तो

८.
तिमीलाई म आँखाको नानी भनौं कि सिरानी भनौं
शिरशिर बहिरहने बतास भनौं कि पानी भनौ

औशीमा उज्यालो लिएर आउँछौं पूर्णिमामा अँध्यारो
प्रेमको निसानी भनौं कि मेरो जिन्दगानी भनौं

९.
हाम्रो सम्बन्धको आयु तिम्रो सुन्दरताले निर्धारण गरेन
तिम्रो स्वभावले पनि त हाम्रो भोकको निवारण गरेन

लागेको थियो तिमी आमा बनौली र मेरी आमालाई बुझौली
हाम्रो सन्तानले समेत तिम्रो तिरस्कार अकारण गरेन ।

१०.
सुनको चर्चा गर्नुहुन्छ, सारीको चर्चा गर्नुहुन्छ
तपाईं त जहाँ जहिले पनि नारीको चर्चा गर्नुहुन्छ

महोदय ! तपाईंले कोख पाउनु भो जसको काख पाउनु भो !
भन्नुस् न कहिले ती आमा बेच्ने व्यापारीको चर्चा गर्नुहुन्छ

Tags :
प्रतिक्रिया दिनुहोस