सरकारी जागिर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारी जागिर


१७ जेष्ठ २०७५, बिहिबार


न बाटो थियो, न घाटो थियो
बर्षा थियो, उर्लँदो खहरे थियो
ज्यान जोखिममा राखेर
कैयौँ जँघार तरियो
कैयौँ ओराली उकाली गरियो ।
भीर पहरामा झुण्डिएर सर्भे गरियो
योजनाका रेखाचित्र कोरियो ।।
परिवार छोडियो, समाज छोडियो
न दिन भनियो, न रात भनियो
न घाम भनियो, न जाडो भनियो
केवल देश भनियो, अनवरत लागियो ।
हामीले त यसरी नै जागिर खाइयो ।।

बाटोमा खरीजुकाले टोकेर
रगताम्मे भएका खुट्टा कन्याउँदै
भुसुना, लामखुट्टेको टोकाई सहँदै
गोठमा सुत्न पाउनु पनि अहोभाग्य थियो
ओहो ! त्यो दशबर्षे द्वन्द !!
लडाकुको लागि, पुलिसको खबरी
पुलिसको लागि आतँककारी
दुवै आरोप खेपियो
जसले, जहाँ, जसरी मारे पनि हुने
मुठीको माखो भएर हिडियो ।
तर, धन्य बाँचियो !
हामीले त यसरि नै जागिर खाइयो ।।

पञ्चायतमा इतर,
प्रजातन्त्रमा पञ्चायती भुत भइयो
उफ् ! त्यो चुनाव को रन्को
मतपत्र, मतपेटिकालाई अँगालो हालेर
कहिले स्कूलको बेञ्चमा सुतियो
कहिले गाविसको धुलो भुईँमा लडियो
सफल चुनाव गरियो ।
दुःख त थियो नी
तर, न कहिलै डिभी भरियो
न पिआरको सपना देखियो
हामीले त यसरी नै जागिर खाइयो ।।

बिना कुनै बढुवा, बिना कुनै प्रोत्साहन
तीन दशक कटाइयो !
उमेर, दुइ बीसे दश पकाइयो ।
न कुनै गुनासो गरियो
न कुनै मोलाहिजा नै गरियो
हामीले त यसरी नै जागिर खाइयो ।।

अब त न जँघार तर्न सकिन्छ
न त उकाली ओराली नै गर्न सकिन्छ
न त भीरमा झुण्डिन सकिन्छ
न त गोठमा सुत्न सकिन्छ
त्यसैले, अब हामी
पुराना भयौँ
मन्दबुद्धि भयौँ
प्रविधि अमैत्री भयौँ
कसैले खोलो तरेर लौरो बिर्सिएछन् ।
कसैलाई माछा मीठा, काँडा तीता भएछन् ।।

देशमा लोकतन्त्र आयो
नयाँ युगको शुरुवात भयो
आशाको किरण पलायो
विश्वास जाग्यो ।
स्वेच्छिक अवकाश आयो ।।
सोचियो देर आए दुरुस्त आए
बुढाहरुको बारेमा सोच्ने कोही त रहेछन् ।
छपन्न काटेको बुढो हड्डी, कति खियाउनु
प्रविधि अमैत्री दिमाग कति लडाउनु
त्यसैले निवेदन टक्र्याइयो
स्वैच्छिक अवकास को ।।
तर
उता निवेदन मरेछ, ऐन मरेछ
यता आशा र विश्वास मरेछन्
हार्दिक समवेदना !
स्वेच्छिक अवकाश योजना
हार्दिक समवेदना आशा
हार्दिक समवेदना विश्वास !!
तिमीहरु सबैको बैकुण्ठबास होस् !!!

प्रतिक्रिया दिनुहोस