सरकारले जनतामा आशा र भरोसा जगाउनुपर्छ : माधव नेपाल « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सरकारले जनतामा आशा र भरोसा जगाउनुपर्छ : माधव नेपाल


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा चारैतिर निराशाको माहोल रहेकाले सरकारले सबैमा आशा र भरोसा जगाउने काम गरेर देखाउनु पर्ने बताएका छन् ।

समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक समानता, सुशासन, सामाजिक न्याय, जनताको दैनिक जीवनमा आइपरेका समस्या समाधान गर्न समाजवादी मोर्चा गठन गरेर अघि बढेको बताएका छन् ।

संघीय सरकारबाट केही राम्रो काम गरेर जनतामा सन्देश दिन र आशा जगाउन आवश्यक छ, ‘नेता नेपालले भने, सुशासनको पक्षमा काम गर्नेलाई साथ दिने र भ्रष्टाचार, अनियमिततामा लाग्नेलाई निर्मम भएर दण्डित गर्नुपर्छ ।’

सङ्घदेखि प्रदेश र स्थानीय तहसम्म राम्रो काममा प्रतिस्पर्धा गरेर देशवासीमा आशा जगाउनु आवश्यक भएको उनको भनाइ थियो । ‘कुनै पनि विषयमा आशङ्का गर्नुपर्ने छैन, देशको सम्प्रभुता, अखण्डतामा आँच आउने कुनै काम हुने दिने छैनौँ । त्यसैले एमसीसीलाई पनि व्याख्यात्मक टिप्पणीसहित पारित गरेका छौँ,’उनले भने, ‘पुँजीवाद हाबी हुन्छ कि भनेर सचेत हुनु आवश्यक छ । विध्वंशात्क सोचले नभई सकारात्मक सोचले समाजवादी मोर्चा अघि बढिरहेको छ ।’

यस्तै विचार मिल्ने पार्टीहरू एकता गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले सकारात्मक सोचका साथ अघि बढिरहेको बताएका थिए । साथै मुलुकमा रोजगारी सिर्जना गरेर उत्पादन बढाउन र आत्मनिर्भर बनाउन पनि समाजवादी मोर्चा अघि बढेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस