भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम जोडिएकोप्रति महिला सङ्घको आपत्ति « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम जोडिएकोप्रति महिला सङ्घको आपत्ति


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेपाल महिला सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति आपत्ति जनाएको छ ।

महिला सङ्घले आज विज्ञप्ति प्रकाशन गरेर नेपाली काँग्रेसकी सांसद डा. राणालाई विभिन्न लाञ्छना लगाइ सो प्रकरणमा उनको संलग्नता रहेको भनेर नियत बस आरोप लगाइएको भन्दै यस कार्यको भर्त्सना गरेको छ ।

नेपाल महिला सङ्घकी अध्यक्ष उषा रावत मिश्रद्वारा आज जारी विज्ञप्तिमा प्रहरीले अनुसन्धान गरिरहेको यस घटना नेपालको प्रतिष्ठासँगै जोडिएकाले यसमा संलग्नहरूलाई कडा कारबाही गर्नुपर्छ भन्दै डा. राणा आफैँले संसद् तथा अन्य सार्वजनिक मञ्चहरूमा आफ्ना भनाइ राखिरहनुभएको अवस्थामा उहाँको संलग्नता भएको जस्ता आधारहीन प्रचार गर्नु उहाँप्रतिको अन्याय हो भनिएको छ ।

उनका बारेमा आएको यस समाचारले समाजमा भ्रम सृजना गरिरहेको भन्दै सो विज्ञप्तिमा भनिएको छ, ‘यस्ता खाले आधारहीन दुष्प्रचार र महिला नेताहरूमाथि हुने गरेको राजनीतिक हिंसा हिंसाहरू तुरुन्त बन्द गर्न अनुरोध गरिन्छ ।’

सो विज्ञप्तिमा यसरी कसैको चरित्र हत्या गर्ने गरी समाचार सम्प्रेषण नगर्न तथा सत्य तथ्य एवं वस्तुनिष्ठ हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस