जिप्रका रौतहटमा मिटरब्याज पीडितका ३६१ वटा उजुरी दर्ता  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

जिप्रका रौतहटमा मिटरब्याज पीडितका ३६१ वटा उजुरी दर्ता 


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग र सरोकारवालाहरू बीच शुक्रबार रौतहट सदरमुकाम गौरमा अन्तरक्रिया भएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहट गौरको सभाकक्षमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य उत्तम सुवेदी, सदस्य गणेशबाबु अर्यालले उपस्थित सरोकारबालाहरुबीच यस जिल्लाको यथार्थ अवस्थाको जानकारी लिएका छन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जाँचबुझ आयोग गठन हुनु अगावै रौतहट जिल्लामा ९२ वटा उजुरी दर्ता भएका थिए, जसमध्ये ८ वटा फर्छ्योट भइसकेको बताए। तर आयोग गठन भएपछि हिजो (बिहीबार) सम्म २०९ वटा उजुरी परेका थिए, आज मात्रै १५२ वटा गरेर ३६१ वटा उजुरी दर्ता भइसेको उनले जानकारी दिए।

रौतहटमा रहेका १८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी कटहरियाबाट ३५ र सबैभन्दा कम राजदेवीबाट उजुरी दिनेको संख्या शून्य रहेको बताउँदै गरुडामा २७, गौरमा ११, चन्द्रपुर, गढीमाई, वृन्दावन, देवाही गोनाही, गुजरा, फतुवा विजयपुर, मौलापुर, बौधीमाई, परोहा, इशनाथ, राजपुर, माधवनारायण नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिका गरेर ३६१ वटा उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रजिअ मिश्रले जाँचबुझ आयोगसमक्ष जानकारी गराए।

यी उजुरीहरूमा अधिकांश औषधी उपचारको लागि लिएको तथ्याङ्क रहेको बताउँदै उक्त उजुरीहरूको वास्तविकता छानबिन गर्न आयोगसमक्ष पेस गरिने उनले स्पष्ट पारे।

Tags :
प्रतिक्रिया दिनुहोस