काठमाडौँ । रुपन्देहीमा नागरिकता त्याग्नेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको तथ्याङ्क अनुसार रुपन्देहीमा २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका छन्।
रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश जानेहरूले उतैको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग गरेका हुन्।
२०६८ सालमा तिलोत्तमाकी रिना सार्कीले बेलायतको नागरिकता लिन पहिलो पटक नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासनको रेकर्डमा छ।
त्यस्तै गएको चैत दोस्रो साता सियारी गाउँपालिकाकी स्वस्तिमा कामीले पनि बेलायतको नागरिकता लिन भन्दै नेपाली नागरिकता त्याग गरेकी छन्।
यसअघि २०७५ साल भदौ ६ गते बुटवलका एकै परिवारका ५ जनाले एकैदिन नेपाली नागरिकता त्यागेका थिए।
कानूनतः दुई देशको नागरिकता लिन नपाइने भएपछि बाह्य मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्याग्नेहरू बढिरहेको जिल्ल प्रशासन कार्यालयले जनाएको छ ।