काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेसँग गठबन्धन तोडेर माओवादीले घातक बाटो रोजेको दाबी गरेका छन् ।
मिसन ग्रासरूट अन्तर्गत सुर्खेतको मेहलकुनामा मङ्गलवार आयोजित प्रशिक्षण कार्यक्रममा सचिव भट्टराईले देशी विदेशी शक्तिको प्रभावमा परेर प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन तोडे पनि अगामी बाटो सहज नभएको दाबी गरेका हुन् ।
सचिव भट्टराईले एमालेले कुनै विदेशी शक्तिको नून खाएर भक्तिभाव नगर्ने बताए । नेपालको सार्वभौमसत्ता र अखण्डता रक्षा गर्न एमाले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उनको भनाइ छ ।
पछिल्लो पटक एमाले र माओवादीबीच बनेको गठबन्धनलाई विदेशी शक्तिको प्रभाव परेर माओवादीले भत्काएको सचिव भट्टराईले आरोप लगाए ।
कम्युनिस्ट गठबन्धन भत्काएर प्रचण्ड प्रतिक्रियावादीको सेवक बनेको उनले औँल्याए ।
समाजवादी नामको छुट्टै पार्टी बनाएर माधव नेपाल र झलनाथ खनालले पनि काँग्रेस जस्तो प्रतिक्रियावादीको सेवा गरेको सचिव भट्टराईले टिप्पणी गरे ।