पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै


७ माघ २०७९, शनिबार


चौतारा । किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगा चोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ ।

नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी भई पशु बीमा गराइएका दुई किसानको भैँसी मरेपछि मूल्याङ्कन बराबरको बीमा रकम वडा नं ७ निवासी ईश्वरीप्रसाद नेपाल र वडा नं ४ निवासी मैया सापकोटाले जनही रु ९० हजार प्राप्त गरेका छन् ।

नगरपालिकाको २०७९/८० को नीति तथा कार्यक्रम अन्तर्गत कृषि तथा पशु कार्यक्रममा विशेष जोड दिँदै आएको पालिकाले पशु बीमा कार्यक्रममा कूल बिमाङ्कको सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानबाहेक नगरपालिकाबाट ५० प्रतिशत र कृषकबाट ५० प्रतिशत रकमबाट बीमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ ।

बीमा रकम हस्तान्तरण गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले यसबाट कृषकलाई प्रत्यक्ष रूपमा आर्थिक लाभ हुनेछ भने । सुरुमा झन्झटिलो प्रक्रियामा नगर पशु शाखाले सहजीकरणको भूमिका निर्वाह गरेपछि कृषक खुसी भएको शाखा प्रमुख अर्जुन खड्काले जानकारी दिए । हाल नगरपालिकामार्फत विसं २०७९ पुस मसान्तसम्म तीन सय ८० गाईभैँसी र २० बाख्राको बीमा भइसकेको छ । दुई सय प्रक्रियामा रहेको पशु शाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस