बागमती प्रदेश सभा सचिवालय अपाङ्ग मैत्री बनाउन आग्रह « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बागमती प्रदेश सभा सचिवालय अपाङ्ग मैत्री बनाउन आग्रह


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ। राष्ट्रिय अपाङ्ग महासङ्घ बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश सभाको संरचना अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण गराएको छ ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई मंगलबार दिउँसो ध्यानाकर्षण पत्र बुझाउँदै अपाङ्गता भएका प्रदेश सभा सदस्य तथा अन्य व्यक्तिहरूलाई सहज आवतजावतको वातावरण बनाउन उनीहरूले माग गरेका हुन् ।

महासङ्घका बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बागमती प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित अपाङ्गता भएकी लक्ष्मी घिमिरेलाई प्रदेश सभामा गर्नुपर्ने नियमित कामकारबाही सहज हुने गरी संरचनाहरू निर्माण गरिनुपर्ने बताए ।

मंसिर ४ गते भएको निर्वाचनबाट बागमती प्रदेश सभा सदस्यमा स्पाइनल इञ्जुरी भएकी रामेछापकी घिमिरे निर्वाचित भएकी थिइन् । उनी ह्वीलचेयरको सहायतामा हिँडडुल गर्ने गरेकी छिन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश सभा सचिवालयका सचिव खड्काले प्रदेश सभाको सभाहल अपाङ्गमैत्री रहेको जानकारी गराएका थिए । उनले समितिका कार्यालयहरू, संसदीय दलको कार्यालय र चमेनागृह लगायतका पूर्वाधारलाई तत्काल अपाङ्गमैत्री बनाउन निर्देशन समेत दिए । उनले घिमिरेको शपथ ग्रहणलाई सहज बनाउन स्टेज समेत सोही अनुसार बनाइने बताए ।

सांसद घिमिरेको सहजताका लागि स्वकीय सचिवलाई छुट्टै अधिकारसहित सभा हल र संसदीय समितिको बैठकहरूमा समेत आवतजावतको वातावरण तयार गर्न पहल गर्ने सचिव खड्काले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस