वाग्मती सफाइ महाअभियानका आठ वर्ष : नदीमा सङ्लिएन पानी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वाग्मती सफाइ महाअभियानका आठ वर्ष : नदीमा सङ्लिएन पानी


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती सफाइ महाअभियान सञ्चालन हुन थालेको आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेको छैन ।

वाग्मती सफाइमा हुतराम वैद्य, भगवान्दास मानन्धर, विदुर पौडेलजस्ता व्यक्तिले यसअघि अभियान चलाएका थिए । तीनै अभियानकर्मीको निधन भइसकेको छ । उनीहरुले शुरु गरेका जगमा विसं २०७० जेठ ५ गते पशुपतिको गुह्येश्वरी मन्दिर क्षेत्रबाट वाग्मती सफाइ महाअभियान शुरु गरिएको थियो ।

महाअभियान शुरु हुँदा शहरी विकास मन्त्रालयको सचिव रहेका किशोर थापा आठ वर्षमा नदी किनारलाई हेर्नलायक बनाउन सकिए पनि पानी स्वच्छ बनाउन नसकिएको स्वीकाछन् । महाअभियान आठ वर्ष पूरा गरेको अवसरमा बुधबार बेलुकी जुम प्रविधिबाट आयोजित कार्यक्रममा उनले ५० हप्तामा गुह्येश्वरी क्षेत्रमा स्नान गरेपछि फेरि स्नान गर्ने अवसर वाग्मतीमा नजुटेको बताए ।

अब टेकुमा स्नानयोग्य पानी बनाउन महाअभियानले सफाइ एवं सरोकार भएका सरकारी निकायलाई दबाब दिन हाल वाग्मती सफाइ अभियानकर्मीका रूपमा सक्रिय पूर्वसचिव थापाको प्रतिबद्धता छ । महाअभियान शुरु गर्नुअघि २०७० जेठ ४ गते दशरथ रङ्गशालामा जागरण फैलाउने उद्देश्यले जागरणमूलक फुटबल आयोजना गरिएको थियो । नागरिकस्तरबाट चलेको यो अभियानमा सरकारी संस्थाले पछाडिबाट सहयोग गरेका छन् ।

एक हजारभन्दा बढी संस्था सफाइ महाअभियानमा सहभागी भएका छन् । वाग्मतीबाट प्रेरणा लिएर देशभर १०० भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । सफाइबाट हालसम्म २० हजार टनभन्दा बढी फोहर व्यवस्थापन गरिएको छ । फोहर काठमाडौँ महानगरपालिका र यस वरपरका नगरपालिकाले व्यवस्थापन गर्दै आएका छन् ।

सफाइका क्रममा वाग्मती किनारमा छ हजार बिरुवा रोपिएका छन् । सफाइ अभियानकर्मीको जन्मदिनका अवसरमा कार्यक्रम आयोजना नै गरेर वृक्षरोपण गर्ने गरिएको छ । वाग्मती किनारका सार्वजनिक जग्गाको सदुपयोग गर्न तीन दर्जन उद्यान बनेका छन् । उद्यान बनाउन विभिन्न सङ्घ संस्थाले योगदान गरेका छन् ।

चलचित्र सङ्घ, विज्ञापन सङ्घ, गायत्री परिवार, जीवन विज्ञान, हलेसी डेकोर, यस ट्राभल्सलगायत सङ्घ संस्था एवं कम्पनीले शुरुदेखि नै वाग्मती सफाइ महाअभियान सहयोग गर्दै आएका छन् । सफाइ महाअभियानले ल्याएको जागरणले फोहर फाल्ने क्रममा कमी आएको पूर्वसचिव थापा बताउछन् । वाग्मतीबाट बालुवा चोर्ने क्रमलाई अझै नियन्त्रण गर्न नसकिएको उनले स्वीकार गरे ।

‘वाग्मतीको पानीलाई नुहाउन योग्य नभएसम्म महाअभियान रोकिन्न, वाग्मती किनारका अतिक्रमित जग्गा फिर्ता गर्न सकिएको छैन, नदी किनारका मानिसलाई सफाइमा सहभागी गराउन नसकेकाले अबको कार्यक्रम त्यसतर्फ केन्द्रित हुन्छ’, अभियानकर्मी थापाले भने ।

चक्रपथको २७ किमीमै सफाइ अभियान चलाउनु पनि अबको प्राथमिकतामा राख्न लागिएको महाअभियानले जनाएको छ । अभियानकर्मी राजकुमार भट्टराई ५०औँ हप्तामा गुह्येश्वरीमा तत्कालीन राष्ट्रपति डा रामवरण यादवलगायतले स्नान गरेको उल्लेख गर्दै अबका चरणमा पनि विभिन्न स्थानमा नुहाउन सक्ने गरी सफाइलाई अघि बढाइनुपर्ने बताउछन् ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधलाई जिम्मेवार बनाएर नदीलगायत सार्वजनिक स्थल सफा राख्न दबाबमूलक अभियान चलाउन पहिलो प्राथमिकता दिने योजना बनाइएको छ । ढल व्यवस्थापन छिटो गरेर नदीलाई स्वच्छ बनाउन पनि सरोकार भएका सरकारी निकायसँग समन्वय गरेर काम गरिने महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौड्यालले बताए ।

पुरातात्विक सम्पदाको संरक्षण गर्ने, भविष्यको नेपाल, सफा, सुन्दर स्वच्छ बनाउन सफाइ महाअभियानले देशव्यापी जागरण फैलाउने जनाएको छ । जुम कार्यक्रममा अभियानकर्मी प्रिया लामिछाने, मनोहरा संयोजक चन्द्र दङ्गाल, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन, वाग्मतीको तिलगङ्गा संयोजक आशा पाण्डे, चक्रपथको दक्षिण(पश्चिम खण्ड संयोजक ताराबहादुर कुँवर, गुह्येश्वरीमाथिको वाग्मती खण्डका संयोजक उत्तम पुडासैनीलगायतले महाअभियान नवौँ वर्ष प्रवेशसँगै नयाँ गतिका साथ सफाइ अभियानलाई अघि बढाइने प्रतिबद्धता जनाए ।

कोरोनाबाट बच्न नियमित कागती सेवन

कार्यक्रममा आयुर्वेदाचार्य डा ऋषिराम कोइरालाले कोरोनाका बेला नियमितरूपमा कागती खाँदा शरीरामा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग पुग्ने बताए । टिमुर र ज्वानु पानीमा राखेर दिनमा दुईपटक वाफ लिने गरेमा कफ निकाल्ने भएकाले कोरानाबाट बच्न यो पनि उपयुक्त विधि हुने उनको भनाइ थियो ।

तरकारीमा धेरै मसलाको प्रयोगले कब्जियत हुने भएकाले महामारीको समयमा खानपिनमा पनि ध्यान दिन उनले सुझाव दिए । परिवारका सदस्य एक ठाउँमा बसेर कुराकानी गर्दा तनाव व्यवस्थापनमा सहयोग पुग्ने गरेकाले एकोहोरोरूपमा सामाजिक सञ्जालमा मात्र व्यस्त नहुन आयुर्वेद एवं मनोसामाजिक क्षेत्रका विज्ञको सुझाव छ ।

आयुर्वेदका माध्यमबाट प्राकृतिकरूपमै स्वास्थ्यलाभ गर्न सकिने भएकाले आफू एलोप्याथीबाट आयुर्वेदमा आएको चिकित्सक कोइरालाले सुनाए । । स्वयंप्रतिको प्रेम विकास गर्न सके रोगप्रतिरोधी क्षमता विकास गराउने भएकाले यसतर्फ पनि अहिलेको महामारीमा ध्यान दिन उनको सुझाव थियो । योग, प्राणायाम, ध्यान साधनाका विधि अपनाएर आफूप्रति प्रेमभाव दर्शाउन आध्यात्मिक गुरुहरुको सुझाव छ ।

दिनमा धेरैपटक हात स्यानिटाइजेसन गर्दा छालाका रोग बढ्न थालेको छ । स्यानिटाइज गरिएको हात खाना खानुअघि राम्रोसँग साबुन पानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । कोठाभित्र मात्र बसेर रोग प्रतिरोधी क्षमता नबढ्ने भएकाले छत वा बाहिर निस्केर तरोताजा हुन, हप्तामा एकपटक भए पनि जीउमा तेल लगाउन, नाकको सफाइका लागि नेतिको अभ्यास गर्न पनि कार्यक्रममा चिकित्सक कोइरालाले अनुरोध गरे ।

जीवाणु नाश गर्न वैदिक यज्ञ

वैदिक यज्ञबाट जीवाणुलाई नाश गर्न सजिलो हुने भएकाले पूर्वीय जीवनपद्धतिलाई अँगाल्नुपर्नेमा उनले जोड दिएका थिए । पोल्याण्डलगायत देशमा होम गर्ने स्थलका लागि १० हेक्टरमा फैलिएको यज्ञशाला निर्माण गरिएकाले नेपाल, भारतजस्ता पूर्वीय संस्कृतिको गुरु देशले यो परम्परालाई विश्वव्यापी रुपमा अघि बढाउन सक्ने जनाइएको छ ।

कोरोनाबाट बच्न महाअभियानले आजदेखि नियमितरूपमा बिहान प्राणायाम एवं योग कक्षा शुरु गरेको जनाएको छ । जुमका माध्यमबाट प्रेक्षा ध्यान शिक्षक किशोरसिंह शाहीले दैनिक प्राणायाम एवं योगका निश्चित आसनको अभ्यास गराउने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस