पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वी नवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना सङ्क्रमित भएका छन् ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरूमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । उनीहरू भारतबाट आएर विनय त्रिवेणीकै क्वारेनटाइनमा बसेको जनाइएको छ ।
यस्तै बागलुङको तारा खोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।
कोरोना सङ्क्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।