काठमाडौँ । सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरे कडा कारबाही गर्ने निर्णय गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानुनी कारबाही अघि बढाउने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी भएका कारण उपभोक्ताले नपाएको हुन सक्ने अधिकारीहरूको भनाइ छ ।
मन्त्रालयले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्नेदेखि खाद्य व्यवस्था कम्पनी र लास्ट ट्रेडिङको तथा ठुला निजी खाद्य स्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्ने, सबै जिल्लाको खाद्यान्न विवरण सङ्कलन गर्ने निर्णय गरेको छ ।
सरकारले कर्मचारी कामका लागि २४ घण्टा तयार रहनुपर्ने र खाद्यान्न अभाव भए हेलिकप्टरबाट भए पनि ढुवानी गर्ने निर्णय गरेको सहभागी ती अधिकारीको भनाई छ ।