खप्तडमा वैशाख २१ देखि साइकल यात्रा गरिँदै « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

खप्तडमा वैशाख २१ देखि साइकल यात्रा गरिँदै


१६ बैशाख २०८१, आइतबार


गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय धनगढीका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको हो ।

खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी पूरा भएको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका योजना अधिकृत दानबहादुर थापाले राससलाई जानकारी दिए । यही वैशाख २१ देखि २८ गतेसम्म साइकल यात्रा गर्ने गरी तयारी भएको उनले जानकारी दिए । खप्तडको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख बजेट विनियोजन गरिएको योजना अधिकृत थापाले बताए ।

सो साइकल यात्रा डडेल्धुराबाट खप्तडको त्रिवेणी धामसम्म गरिने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । साइकल यात्राका लागि परामर्शदातासँग छलफलसमेत गरी तयारी अघि बढेको  थापाको भनाइ छ । 

यसैगरी प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ मा पर्यटकलाई लक्षित गर्दै खप्तडमा बीचपानी-त्रिवेणी धामसम्म ४।५ किलोमिटर पदमार्ग निर्माण गर्न अनुमानित रु ९९ लाख ९९ हजार ६७५ बजेट विनियोजन गरिएको एकाइ कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस