नागरिकका समस्या र सुख-दुःखसँग प्रत्यक्ष जोडिन ‘नागरिकसँग मेयर कार्यक्रम’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिकका समस्या र सुख-दुःखसँग प्रत्यक्ष जोडिन ‘नागरिकसँग मेयर कार्यक्रम’


२८ चैत्र २०८०, बुधबार


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘नागरिकसँग मेयर कार्यक्रम’ सुरु गरेको छ । नगरपालिकाले वडा नं. ४ अर्खलेबाट यो कार्यक्रमको शुभारम्भ गरेको हो ।

आइतबारबाट शुभारम्भ भएको कार्यक्रम नगरपालिकाको १४ वटै वडामा पुर्‍याउने योजना रहेको नगर प्रमुख खिलध्वज पन्थीले बताए । ‘नागरिकसँग मेयर कार्यक्रम’ कस्तो कार्यक्रम हो ? भन्ने जिज्ञासामा उनले भने, ‘नागरिकका समस्या, उहाँका सुख दुःखसँग प्रत्यक्ष जोडिने हाम्रो सङ्कल्प स्थानीय सरकारले कल्पना गरेको छ । सोही अनुसार नागरिकसँग प्रत्यक्ष जोडिनका लागि हामीले यो कार्यक्रम शुभारम्भ गरेका हौँ ।’

यो कार्यक्रम हामीले गरेका काम कति सन्तोषजनक छन् ? हाम्रो कार्य सम्पादनप्रति कति नागरिक कति खुसी छन् ? हाम्रो कामप्रति नागरिकको धारणा के हो ? स्थानीय सरकारले थप के गर्नुपर्छ भन्ने विषयमा नागरिक समक्ष नै पुगेर प्रतिक्रिया र सुझाव सल्लाह लिने कार्यक्रम हो ।यो कार्यक्रमले कस्ता सेवा र विषयहरूलाई प्राथमिकतामा राखेको छ ?

एकातर्फ नागरिकसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया र राय सुझाव लिने काम हुन्छ भने अर्कोतर्फ हामीले सो समयमा घुम्ती शिविर मार्फत विभिन्न सेवाहरू पनि प्रवाह गर्ने गरेका छौँ ।

स्वास्थ्य सेवा, कृषि सेवा, भेटेरिनरी सेवा, सामाजिक सुरक्षा भत्ता वितरण जस्ता सेवाहरू पनि गाउँमै पुगेर प्रदान गर्ने गरेका छौँ । नागरिकसँग मेयर कार्यक्रमले पञ्जीकरण सेवा, जेष्ठ नागरिक सेवा, माटो परीक्षणसमेत गर्ने गरेको छ ।

यो कार्यक्रमले कस्ता नागरिकका सेवालाई सम्बोधन गर्न खोजेको हो ?
यो कार्यक्रम चैत २५ मा वडा नं. ४ बाट सुरु भएको हो । आगामी वैशाख ६ मा वडा नं. ६ मा जाँदै छौँ । त्यसपछि क्रमशः प्रत्येक वडामा यो कार्यक्रम पुग्नेछ । कार्यक्रमले दुर्गममा बस्नेहरूका लागि सेवा प्रवाहमा सहजता प्रदान गर्न खोजिएको हो ।

नगरपालिका भित्रका विकट वडाहरू ६, ११, १२, १३ र १४ लाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएका छौँ । सुगम भन्दा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । सेवा लिन कार्यालयसम्म आउन नसक्नेहरूलाई पनि समेट्न खोजिएको हो । अर्कोतर्फ एकै पटक धेरै नागरिकलार्ई सेवा प्रदान गर्ने सकियोस् भन्ने हाम्रो उद्देश्य छ ।

जनशक्ति लिएर घुम्ती शिविरमा जाँदा यता कार्यालयमा पनि जनशक्ति अभाव नहोस् भन्नेमा सचेत छौँ । सोही अनुसार नै व्यवस्थापन गरेका छौँ । कार्यालयमा आएको नागरिकले गुनासो गर्न नपरोस् भन्नेमा हामी गम्भीर छौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस