सहकारीले आफैँलाई विश्वासिलो वित्तीय सारथिका रुपमा स्थापित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सहकारीले आफैँलाई विश्वासिलो वित्तीय सारथिका रुपमा स्थापित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा 


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहकारी संस्थाहरू आफैँले विश्वासिलो वित्तीय सारथिका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । बचतकर्ता, सहकारीकर्मी र सरकारसमेत मिलेर सहकारीका विकृति-विसंगतिको अन्त्य गर्नुपर्नेमा उनको जोड छ । 

मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख शर्माले सहकारीमा आइपरेका विकृति-विसंगतिको अन्त्य गरी आफ्ना मूल्यमान्यतामा आधारित भएर सहकारी सञ्चालन गरिनुपर्ने धारणा राखेका छन् । 

‘आफ्ना सदस्यहरुको बचत सुरक्षा गर्नु, सहकारीमा आइपरेका विभिन्न विकृतिको अन्त्य गर्नु र यसको मूल्य, मान्यता एवम् सिद्धान्त बमोजिम विश्वासिलो वित्तीय सारथिका रुपमा समाजमा स्थापित गराउनु सहरकारीको आफ्नै दायित्व हो,’ उनले भनेका छन् । 

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई नियन्त्रण गर्दै नीति, विधि एवम् पद्धति अनुसार सहकारी सञ्चालनका लागि यसमा संलग्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा शर्माले जोड दिएका छन् । 

प्रमुख शर्माले सन्देशमा समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका विपन्न वर्गलाई समेटी उनीहरुको आर्थिक रुपान्तरणमा सहकारीहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको जिकिर गरेका छन् । मंगलबार ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारासहित राष्ट्रिय सहकारी दिवस मनाइदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस