दुई करोड लागतमा म्याग्देमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई करोड लागतमा म्याग्देमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण


१८ पुस २०८०, बुधबार


दमौली ।  तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रूपमा उक्त केन्द्र शुभारम्भ गरेका छन् । 

 स्थानीय तहहरूलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाले जनाएको छ ।  अध्यक्ष श्रेष्ठले भने, ‘अधिकांश स्थानीय तह त्यसमाथि पनि सहरीकरणको गतिमा बढेको पालिकालाई फोहरमैला व्यवस्थापनमा चुनौती हुँदै आएको थियो । डम्पिङ साइड सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापन धेरै हदसम्म सहज हुन्छ ।’

गाउँपालिकाको बजार क्षेत्रमा सङ्कलन हुने कुहिने र नकुहिने दुवै प्रकारका फोहरहरू उक्त सङ्कलन तथा व्यवस्थापन केन्द्रमा जम्मा गरिने जनाइएको छ । उपाध्यक्ष घिमिरे फोहर सङ्कलन केन्द्रबाट कुहिने र नकुहिने फोहर छुटाइने र कुहिने फोहरबाट मल उत्पादन गरिने र नकुहिने फोहरबाट अन्य उत्पादन गरी मोहर बनाइने बताए । २२ रोपनी आठ आना जग्गा खरिद गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । गाउँपालिकाले विसं २०७८ चैत ९ गते स्थानीयवासीसँग रु ३३ लाखमा जग्गा खरिद गरेको थियो । 

जग्गा खरिदलगायत गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माणमा रु दुई करोड १५ लाख खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । फोहरमैला व्यवस्थापन केन्द्रका लागि रु २१ करोडको गुरुयोजना तयार भएको छ । गुरुयोजनाअनुसार केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्न बाँकी छ । अधिकारीका अनुसार करिब पाँच हजार घरधुरीबाट फोहरमैला सङ्कलन गरिनेछ । फोहर सङ्कलनका लागि टिपरसमेत खरिद भइसकेको छ । फोहरमैला व्यवस्थापनका लागि सर्वसाधारणसँग न्यूनतम रु एक सय शुल्क लिइने अधिकारीले बताए । केन्द्रमा तीन जनालाई रोजगारी दिइएको छ । 

साप्ताहिक रूपमा सबै वडामा पुगेर फोहरमैला सङ्कलन गरिने जनाइएको छ । छिमेकी पालिका व्यास र शुक्लागण्डकी नगरपालिकासँग समेत रोयल्टी लिएर त्यस ठाउँको फोहर यहाँ व्यवस्थापन गर्न सकिने विषयमा छलफल भएको अधिकारीले बताए । गाउँपालिकाको आन्तरिक स्रोतबाट उक्त डम्पिङ साइड निर्माण गरिएको हो । उक्त केन्द्र निर्माणको थालनी विसं २०८० वैशाख ३ गतेदेखि भएको थियो । शुक्लागण्डकी नगरपालिका-४ स्थित लाहुरे काइला बिल्डर्ससँग सम्झौता भई डम्पिङ साइट निर्माण गरिएको हो । 

गाउँपालिकाले हालै आयोजित गाउँ सभाबाट वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, २०८० पारित गरिसकेको छ । जिल्लाका दश स्थानीय तहमध्ये शुक्लागण्डकी नगरपालिकाले मात्रै यस अगाडि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । तर उक्त केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन । तनहुँको स्थानीय तहमा फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइट बनेको छ । जिल्लाका सबैजसो स्थानीय तहलाई फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएको छ । अधिकांश स्थानीय तहले सङ्कलित फोहरमैला नदी किनारमा फाल्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस