पुतली बाजेको योगदानको स्थल: पुतली सङ्ग्रहालय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पुतली बाजेको योगदानको स्थल: पुतली सङ्ग्रहालय


१३ पुस २०८०, शुक्रबार


गण्डकी । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, पोखराको पृथ्वीनारायण क्याम्पस परिसरभित्रको सङ्ग्रहालयमा विभिन्न ९३७ प्रजातिका पुतली एकै ठाउँमा अवलोकन गर्न सकिन्छ ।

‘अन्नपूर्ण बटरफ्लाई म्युजियम’का रूपमा रहेको यो सङ्ग्रहालय अन्नपूर्ण प्राकृतिक इतिहास सङ्ग्रहालयका रूपमा पनि परिचित छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) को सञ्चालनमा रहेको यस सङ्ग्रहालय २०२३ सालमा अमेरिकी पिसकोरका स्वयंसेवक स्व. डोरोथी मिरोले स्थापना गरेका हुन्। तत्कालीन समयमा हाल रहेको सङ्ग्रहालयको कलात्मक भवन मिरोले नै आफ्नै खर्चमा निर्माण गरीदीएका हुन् । 

सङ्ग्रहालय परिसरमा पुग्नासाथ सङ्ग्रहालय भवनका बाहिर ठिङ्ग ठडिएका नेपालका विभिन्न जाताजातिका मानिसको स्वरूपमा कुँदिएका खाँमाहरूले छाना अड्याइएको देखिन्छ । उक्त दृश्यले बाहिर पुग्ने जोकोहीलाई भित्र पस्न लोभ्याउने गरेको छ । मिरोको सन् २००० मा निधन भएको थियो । उक्त सङ्ग्रहालय २०४३ सालमा एक्याप स्थापना भएसँगै सोही संस्थाले नै यसको संरक्षण तथा सञ्चालन गर्दै आएको छ ।

मिरोले स्थापना गरेको सङ्ग्रहालयमा पुतलीहरूको सङ्कलन भने बेलायतको लण्डन जन्मस्थान भई नेपालको सम्मानार्थ नागरिकता प्राप्त गरेका स्व.कोलिन फिलिप स्मिथले गरेका हुन् । स्मिथले देश तथा विदेशका ठाउँठाउँबाट पुतलीहरू सङ्कलन गरी ल्याएको सङ्ग्रहालयका कर्मचारी सुरेन्द्र परियारले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालयमा नेपाल भित्र पाइने ५८७ प्रजातिका पुतली र नेपाल बाहिरका ३५० प्रजातिका पुतली रहेका छन् ।

मूल प्रवेशद्वारबाट छिर्ना साथ नेपालका विभिन्न भागमा पाइने जीवजन्तुका आकृतिहरूले जो कोहीलाई आकर्षित गर्दछ । वाइल्ड लाइफ कक्षका रूपमा रहेको उक्त कक्षभित्र पूर्वी भागमा तराई भूभागमा पाइने जीवजन्तु बारे हेर्ने र जानकारी लिने व्यवस्था मिलाइएको छ । कक्षको उत्तरी कुनामा नेपालमा पाइने हिमाली जीवजन्तुबारे जानकारी लिन सकिन्छ । उक्त कक्षको पश्चिममा लोपोन्मुख जनावर र दक्षिणतर्फ रातको सहयमा सक्रिय हुने जीवजन्तुहरू राखिएको छ । कर्णाली र नारायणी नदीमा पाइने डल्फिन आदिबारे हेर्न र जान्न पाउँदा आउने दर्शकहरू खुसी हुने गरेका छन् । सङ्ग्रहालयको प्रवेशसँगै दर्शकहरूले छुट्टै रोमाञ्चक अनुभूति गर्दछन् ।

त्यस्तै यहाँको अर्को कक्ष चरा र चट्टान कक्ष हो । यस कक्षमा विभिन्न प्रजातिका चराका साथै विभिन्न पत्थरहरू देख्न सकिन्छ । विभिन्न चट्टान, नेपालका काली गण्डकी नदीमा पाइने शालिग्राम तथा खनिजहरू सो कक्षमा राखिएको छ । त्यस कक्षमा राखिएको विभिन्न ७० प्रजातिका चरा, किङ कोब्रा, सिंगारे सर्प, धामन सर्प, हिमाली गिद्ध, डाँफे आदिले त्यसबारे जान्न र बुझ्न चाहनेलाई फाइदा पुगेको परियारले जानकारी दिए । 

यहाँको मुख्य आकर्षण पुतली कक्ष हो । नेपालमा सबैभन्दा ठूलो सङ्ख्यामा पुतलीहरू सङ्ग्रह गरिएको सङ्ग्रहालय भएका कारण पुतलीको अध्ययन अनुसन्धान गर्न आउनेका लागि यो विशेष महत्वपूर्ण रहेको परियारले बताए । पुतलीकै कारण यसलाई पुतली सङ्ग्रहालयका रूपमा चिनिन्छ । नेपालमा पाइने ५८७ प्रजातिका र अन्य विभिन्न देशबाट ल्याइएका ३५० प्रजातिका पुतली सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ ।

विश्वकै सबैभन्दा ठूलो र विश्वकै सबैभन्दा सानो पुतलीका साथै हिमालदेखि तराईसम्मका विभिन्न भूभागमा पाइने पुतली सङ्ग्रहालयमा रहेको बताउँदै परियारले अध्ययनले लद्दाख, सिक्किमदेखि मनाङसम्म पुतलीहरू आएको पाइएको जानकारी दिए । अध्ययनले पुतलीहरू थोराङ् पास गरेको पाइएको उनको भनाइ छ । ठाउँ र परिवेश अनुसार पुतलीहरूमा फरक पन पाउन सकिने उनले बताए । 

पुतलीबारे जान्न र बुझ्न चाहनेका लागि सङ्ग्रहालय पुग्नैपर्ने गन्तव्य जस्तै बनेको बताउँदै परियारले यसको श्रेय बेलायती नागरिक कलिन फिलिप स्मिथलाई नै जाने बताए । आफ्नो जीवन नै पुतलीको अध्ययन अनुसन्धानमा बिताएका स्मिथ पुतली बाजेका रूपमा चिनिन्थिए । बेलायतमा जन्मिएर नेपाललाई आफ्नो कर्मस्थल बनाएका उनी ८७ वर्षको उमेरमा पोखरामा दिवंगत बनेका हुन् । आफ्नो जीवन नै नेपालमा पुतलीको अध्ययन, सङ्कलन र संरक्षणमा बिताएका उनी नेपालमा पाइने पुतलीहरूको खोज, अध्ययन गरी अभिलेखीकरण र संरक्षणमा विशिष्ट योगदान दिएकै कारण पुतली बाजेका रूपमा नामले प्रसिद्ध बनेको सङ्ग्रहालयका प्रमुख रमेश श्रेष्ठले बताए ।

जीवनको करिब छ दशक नेपालमा पुतलीकै अध्ययन अनुसन्धानमा बिताएका स्मिथलाई नेपाल सरकारले समानार्थ नागरिकता समेत प्रदान गरेको थियो । उनी पहिलो पटक २०२२ सालमा बेलायतबाट नेपाल आएका थिए । युनिभर्सिटी अफ लण्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालयमा अध्यापन गराउने क्रममा उनी ‘युनाइटेड मिसन टू नेपाल’ मार्फत पढाउनका लागि उनी नेपाल आएका थिए । तत्कालीन समयमा उनले गोरखाको विद्यालयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, वरिष्ठ चिकित्सक स्व.उपेन्द्र देवकोटालगायत विभिन्न उच्चपदस्थ व्यक्तिहरूलाई  अध्यापन गराएका थिए । 

तीस वर्षे उमेरमा नेपालमा आएका स्मिथले ५८ वर्षको नेपाल बसाइका क्रममा पाँच दशक पुतलीकै अध्ययन अनुसन्धान एवम् अभिलेखीकरणमा बिताएका थिए । २०२३ सालमा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग छ वर्षे सम्झौता गरेर उनले करिव २५ हजार पुतली सङ्कलन गरेका थिए । तत्कालीन सयमा उनले नेपालका लगभग ४० जिल्लामा पुगेर पुतली सङ्कलन गरेका हुन् । पेशाले शिक्षक भए पनि पुतलीको अध्ययन अनुसन्धानमा उनको ठूलो मोह थियो । उनले नेपालका हिमाल, पहाड र तराईका अधिकांश जिल्लाबाट सङ्कलन गरिएका पुतली सङ्ग्रहालयमा छन् । 

सन् १९६६ सालमा नेपाल आएका स्मिथले लामो समयको प्रयासपछि सम्मानार्थ नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए । उनको गत कात्तिक १८ गते निधन भएको हो । नेपालमा पुतलीकै अध्ययन, अनुसन्धान एवम् सङ्कलनमा जीवन व्यतीत गरेका उनको सम्मानमा सङ्ग्रहालयमा ‘सम्झनामा कोलिन फिलिप स्मिथ (पुतली बाजे)’ लेखेर एउटा बोर्डमा उनका नेपाल बसाइका विभिन्न स्मरण सजाइएको छ । उक्त बोर्डमा राखिएका नागरिकताको खोजीमा जिल्ला प्रशासन कार्यालय पुगेको, नेपाली नागरिकतासँगै लिएर पढ्दै गरेका तस्बिर सहित सम्मान ग्रहण गर्दाका क्षण आदिलाई त्यहाँ पुग्ने जो कोहीले नियालेर हेर्ने गरेका छन् । 

विश्वमा पाइने १७ हजार पाँच सय प्रजातिका पुतलीमध्ये नेपालमा मात्रै करिब ६६० प्रजातिका पुतली पाइएका छन् । पर्यावरणीय चक्रमा पुतलीको ठूलो महत्व रहेको छ । कृषिजन्य उत्पादनमा परागसेचनका माध्यमबाट पुतलीले महत्वपूर्ण योगदान पुर्‍याउने भएकोले किसानको साथीका रूपमा पनि यसलाई लिने गरिन्छ ।

सङ्ग्रहालयको अर्को कक्षमा विभिन्न देशमा त्यहाँका मानिसले विशेष समारोहमा लगाउने पोशाकमा सजिएका गुडियाहरू सजाइएको छ । त्यहाँ पुग्नेले कुन देशमा कस्तो पहिरन छ भन्ने राम्रोसँग बुझ्न पाउँछन् । सोही कक्षमा विभिन्न जातजातिले प्रयोग गर्दै आएका प्राचीन घरहरू राखिएका कारण हाम्रो पुरानो संस्कार र संस्कृति बुझ्न मद्दत पुगेको छ ।

सङ्ग्रहालयको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) बारे जान्न र बुझ्न अर्को छुट्टै कक्ष राखिएको छ । त्यस कक्षमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएका गाउँहरू, त्यहाँको जनजीवन, भूगोल आदिबारे जान्ने बुझ्ने व्यवस्था मिलाईएको छ । एक्यापको स्थापनापछि त्यहाँको जनजीवन र चेतनाको स्तर परिवर्तन भएका कुरालाई उक्त कक्ष पुगेर जान्न र बुझ्न सकिन्छ ।

सङ्ग्रहालयमा छिरिसकेपछि पुतलीका साथै हाम्रो जनजीवन तथा परिवेशका धेरै कुराहरू एकसाथ जानकारी पाउन सकिने पृथ्वीनारायण क्याम्पसका विद्यार्थी दिनेश सुवेदीले बताए । “पुतली मात्रै नभएर हाम्रो समाज र परिवेशको पनि सङ्ग्रहालयमा चित्रण गर्न खोजिएको छ”, उनले भने, “यस्ता सङ्कलनले अनुसन्धानकर्ताका साथै जो कोही विद्यार्थीलाई पर्यावरणबारे बुझ्न योगदान गर्दछ ।” सङ्ग्रह गरिएका पुतली एवम् अन्य सामाग्रीलाई वर्षौँसम्म जोगाउने किसिमले संरक्षण गर्न पनि जरुरी रहेको उनले बताए ।

सङ्ग्रहालयमा विभिन्न प्रजातिका बोटबिरुवा, चराचुरुङ्गी, जनावर, सर्प आदिले वनस्पति एवम् पशुपंछी अध्ययन गर्न चाहने जो कोहीलाई फाइदा पुग्ने गरेको सङ्ग्रहालयका प्रमुख रमेश श्रेष्ठ बताउँछन् । “हामी सङ्ग्रहित सामग्रीलाई कसरी जोगाउने भन्नेमा छौँ”, उनले भने, “सङ्ग्रहित हरेक सामग्री अति नै संवेदनशील छन्, यी सामग्रीलाई वर्षौँसम्म जोगाउनु ठुलै चुनौतीका रूपमा रहेको छ ।”

सङ्ग्रहालयमा स्वदेशी एवं विदेशी पर्यटकका साथै विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरू पुग्ने गरेका छन् । अघिल्लो वर्ष कुल छ हजार ५३५ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । यसमध्ये तीन हजार ५१९ जना नेपाली, ५२२ जना विदेशी र दुई हजार ४९४ जना विद्यार्थी रहेको सङ्ग्रहालयले जनाएको छ । सङ्ग्रहालयमा पुगेर त्यहाँ राखिएका पुतली तथा अन्य जीवजन्तु आदिको अवलोकन गरिसकेपछि एक पटक पुग्नैपर्ने गन्तव्यका रूपमा चित्रण गर्ने गर्दछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस