लुम्बिनीको विकासबारे उपाध्यक्ष लामा र जापानी राजदूतबीच छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनीको विकासबारे उपाध्यक्ष लामा र जापानी राजदूतबीच छलफल


२ पुस २०८०, सोमबार


काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच सोमबार भेटवार्ता भएको छ ।

भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्त्विक विकास एवम् लुम्बिनी गुरुयोजनालगायतका विषयमा उपाध्यक्ष डा. लामा र राजदूत किकुताबीच छलफल भएको हो ।

उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । सन् १९७८ मा जापानिज वास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष लामाले छलफल गरे ।

भेटमा राजदूत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरूको पवित्रस्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापान सदैव तयार रहेको प्रतिबद्धता जनाए । दोस्रो विश्वयुद्धपछि जापानमा भएको नरसंहारपछि आफूहरू शान्ति, अहिंसाको मार्गमा रहेकाले आफूहरूका लागि लुम्बिनी पवित्र स्थल रहेको राजदूतले बताए ।

भेटमा दुई देशबीचको मित्रवत् सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचार-सार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका विषयमा समेत छलफल भएको थियो । राजदूत किकुतालाई उपाध्यक्ष डा. लामासहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्यसचिव सानुराजा शाक्यलगायतले स्वागत गरेका थिए ।

राजदूतसहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीप लगायतका क्षेत्रको भ्रमण पनि गरे । यस्तै सोमबार नै जर्मन राजदूतावासका डेपुटी हेड अफ मिसन डा। स्टेफान रुसकलाई पनि कोषले स्वागत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस