दूरसञ्चारले निर्देशन दिए पनि सिजी नेटमा बन्द भएन टिकटक (भिडियोसहित)  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दूरसञ्चारले निर्देशन दिए पनि सिजी नेटमा बन्द भएन टिकटक (भिडियोसहित) 


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण रूपमा टिकटक बन्द गर्न सेवा प्रदायकलाई दिएको निर्देशन विपरीत सीजीको इन्टरनेटबाट टिकटक चलेको पाइएको छ । 

सिजीको इन्टरनेटमार्फत सार्वजनिक रूपमा निःशुल्क उपलब्ध डोमेन नेम सिस्टम (डीएनएस) सर्भरको प्रयोग गरेर केही प्रयोगकर्ताले टिकटक चलाइरहेको पाइएको हो । डीएनएसले कुनै पनि डोमेन नेमलाई त्यो वेबसाइटको आईपी एड्रेसमा पु¥याउन मद्दत गर्छ ।

इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले आफ्नो डीएनएस सर्भरमा टिकटकको आईपी एड्रेस ब्लक गरेसँगै त्यसमा उसका प्रयोगकर्ताले पहुँच पाउन सक्दैनन् । तर, सिजी नेटले टिकटकको आईपी एड्रेस ब्लक नगरेकै कारण प्रयोगकर्ताको पहुँच टिकटकसम्म पुगेको हो ।

प्राधिकरणले निर्देशन दिएपछि अन्य सेवा प्रदायकले यो प्रविधिमा रोक लगाए पनि सीजिले भने रोक लगाउन सकेको छैन । सिजी नेट प्रयोगकर्ताले सेवा प्रदायक आइएसपीले प्रदान गरेको डिएनएसलाई परिवर्तन गरी गुगलको डिएनएस (एट डट एट डट एट डट एट डट) प्रयोग गरेर टिकटक चलाई रहेका छन् । तर, सिजी नेटबाट डिएनएस प्रयोग गरेर टिकटक चलेको बारे चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले अस्वीकार गरे । उनले भने, ‘सरकारले गैर कानुनी भनेको विषय हाम्रो लागि पनि गैर कानुनी नै हो । कसैले गैर कानुनी रूपमा प्रयोग गरेको पाइएमा कारबाही र्छौं । हाम्रो प्राविधिक टिमले यसलाई हेर्छ ।’

तर, अन्य इन्टरनेट सेवा प्रदायकले टिकटक चलाउन सकिने यो प्रविधिमाथि रोक लगाएका छन् ।

हेर्नुस् सिजीको नेटमा यसरी चल्दै छ टिकटक

सरकारले गैर कानुनी भनेको वेबसाइट वा सामग्री सेवा प्रदायक र सेवाग्राही कसैले पनि चलाउनु नहुने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले स्पष्ट पारे । उनका अनुसार सरकारले गैर कानुनी भनेका ९० प्रतिशत सामग्री बन्द छन् । खनालले भने, ‘कुनै इन्टरनेट सेवा प्रदायकले सरकारले गैर कानुनी भनेको सामग्रीमा रोक लगाएको छैन भने ऊमाथि कानुनी कारबाही हुन्छ ।’ 

दूरसञ्चार ऐन, २०५३ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन नमान्ने सेवा प्रदायकलाई ५० हजार रुपैयाँ जरिवाना गराइने उल्लेख छ । टिकटक बन्दको अवस्था र टिकटक पूर्ण रूपमा बन्दका गर्न अपनाउनुपर्ने उपायको सम्बन्धमा अध्ययन गर्न प्राधिकरणद्वारा गठित उपसमितिले अध्ययन प्रतिवेदन बुझाउँदै निर्देशनबमोजिम टिकटक बन्द नगर्ने सेवा प्रदायकलाई हदैसम्मको कारबाही गर्न सिफारिस गरेको छ ।

टिकटकको प्रयोगमा तत्काल रोक लगाउन विभिन्न मितिमा प्राधिकरणले दिएको निर्देशनको सम्बन्धमा कुनै जवाफ वा प्रतिक्रिया नदिएका सेवा प्रदायकलाई दूरसञ्चार ऐनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन समितिले सिफारिस गरेको हो । 

प्राधिकरणले मंसिर १ मा टिकटक बन्दको अवस्था र बन्दका उपायका विषयमा अध्ययन गर्न एक उपसमिति गठन गरेको थियो । कार्तिक २७ मा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

सिजी नेट चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था हो । विनोद कुमार चौधरी यसका अध्यक्ष तथा कार्यकारी प्रमुख हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस