पैदल यात्रुले स्विच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पैदल यात्रुले स्विच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले स्विच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहानबाट सञ्चालनमा आएको हो ।

हाल काठमाडौँ उपत्यकाका विभिन्न चोकहरूमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । ‘पैदल यात्रुले स्विच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ र गाडी रोकिन्छन् अनि यात्रुले बाटो पार गर्छन् । त्यसको केहीबेरमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ,’ श्रेष्ठले भने ।

उनले पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने बताए । उनले अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको बताए ।

महानगरले काठमाडौँका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस