एचआइभी सङ्क्रमित आफ्नै खुट्टामा उभिने प्रयासमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एचआइभी सङ्क्रमित आफ्नै खुट्टामा उभिने प्रयासमा


७ मंसिर २०८०, बिहिबार


चितवन । हाम्रो समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन ।

त्यसैले सङ्क्रमित खुल्न सकेका छैनन् । परिवार र समाजले हेला गरेपछि सङ्क्रमित किशोर किशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन् ।

माडी नगरपालिका घर भएकी २० वर्षीया अम्बिका सुनार (नाम परिवर्तीत) घरमा हेला भएपछि चार वर्षदेखि दिदीको घरमा बस्दै आएकी छन् । आमाको निधनपछि उनका बुबाले अर्की श्रीमती भित्र्याएदेखि नै सुनारलाई हेला गर्न थालिएको हो । आफू ११ वर्षको हुँदा एचआइभी सङ्क्रमण पुष्टि भएको उनी बताउछीन्। सौतेनी आमाको व्यवहारका कारण कक्षा ८ सम्म अध्ययन गरेर पढाइ छोडेकी सुनार अहिले आफ्नै खुट्टामा उभिन सीपमूलक तालिममा लागेकी छन् ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनको सक्रियतामा सुनारले सिलाई कटाइको तालिमसमेत लिएको छ । सुरुआतमा गाउँमा नै हुँदा दिदीकोमा गएर सिलाई कटाइको काम सामान्यरुपमा गर्ने गरेको भए पनि अहिले त्यही पेसालाई अपनाउन खोजेको उनले बताइन् । सुनारले भनिन्, “सङ्क्रमित भनेर हेला गर्छन् । त्यसैले केही गरेर देखाउने इच्छा छ ।”

फाउण्डेसनको सहयोगमा तीन महिने तालिम केही दिन अघि मात्रै सम्पन्न गरेकी सुनार अब दिदीकै घरमा आफ्नै व्यवसाय गरेर बस्ने योजनामा छिन् । उनको स्वरोजगारका लागि संस्थाले कपडा सिलाउने मेसिनको व्यवस्था गर्दै छ । समाज परिवर्तन गर्दै अघि बढ्नुपर्ने समय आएको उनले सुनाइन् ।

फाउण्डेसनको सहयोगमा १२ वर्षदेखि २० वर्ष उमेरका सङ्क्रमित ३० किशोर किशोरीले सीपमूलक तालिम लिएका छन् । फाउण्डेसनमा हाल नियमित औषधि सेवन गर्ने सङ्क्रमित एक हजार एक सय ५८ रहेका छन् । उनीहरूमध्ये ३८ बालबालिका रहेका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस