लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता


२ कार्तिक २०८०, बिहिबार


मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ का तीर्थ अधिकारीलाई मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दसैँ तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि अधुरै रहेको उनले बताए ।

‘विगतमा बाटोघाटोमा पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्न पाएको छैन’, अधिकारीले भने, ‘केही युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्त्व एवं आवश्यकता घट्दै गएको देखिन्छ ।’

नयाँ पुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्त्व हराउँदै गएको स्थानीय राधा तिवारीले बताइन् ।

‘जिल्लामा विगत केही वर्षदेखि पिङ खेल्ने परम्परा घट्दै केही स्थानमा मात्र सीमित बन्न पुगेको छ’, उनले भनिन् । दसैँको बेलामा आकर्षणका रूपमा खेलिने लिङ्गे पिङ नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पछिल्लो समय हराउँदै जान थालेको छ । एक दशकअघिसम्म दसैँ लागेसँगै चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ पछिल्ला वर्षमा हराउँदै जान थालेका हुन् ।

दसैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने चाहना हुने गर्छ । तर अहिले चाहेर पनि पिङ खेल्न नपाइएको मध्यविन्दु नगरपालिका–८ का सुवास खत्रीले बताए । दसैँ आगमनको सुरुआतसँगै खेलिने पिङ यस वर्ष नगण्यरुपमा मात्र केही स्थानमा देख्न पाइन्छ ।

‘दसैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ’, उनले भने, विशेष गरी पिङ खेल्ने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले सहरी क्षेत्रमा दसैँको वास्तविक रौनक हराउँदै जान थालेको छ । दसैँको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दसैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै जानु चिन्ताको विषय बनेको बुढापाका बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस