रोकेको विज्ञापन तत्काल खोल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रोकेको विज्ञापन तत्काल खोल


२४ आश्विन २०८०, बुधबार


psc

लोक सेवा आयोग अर्थात् आम नागरिकमा निष्पक्षताको धरोहरका रूपमा पहिचान कायम राख्न सफल नेपालको सबैभन्दा जेठो संवैधानिक निकाय । पारदर्शिता, विश्वसनीयता र वैधताको वैभवले जन जनको मनमस्तिष्कमा बस्न सफल लोक सेवा आयोग आफ्नो निष्पक्ष परीक्षा प्रणालीकै कारण आजका दिनसम्म जनविश्वास सहितको संस्थाका रूपमा टिकी राखेको छ र महत्त्व अझ बढ्दो छ ।

देशमा बढ्दो बेरोजगारी, हरेक क्षेत्रमा व्याप्त चरम राजनीति र भनसुनले प्राथमिकता पाईरहँदा निमुखा जनताको एक मात्र आशा र भरोसाको केन्द्र लोक सेवा यो अवस्थासम्म त्यति सहजै भने आई पुगेको होइन । कहिले आन्तरिक त कहिले बाह्य ठूल ठुला धक्काहरूको सामना गर्दै यस अवस्थामासम्म आई पुग्नुमा आयोगका नेतृत्वकर्ता र कर्मचारीहरूको अहम् भूमिका रहेको छ ।

स्थायी सरकारको मुख्य प्रवेशद्वारका रूपमा रहेको लोक सेवा आयोगको गरिमा यसले सञ्चालन गर्ने परीक्षा प्रणालीमै अडेको छ । दरखास्तदेखि सिफारिससम्मकै विभिन्न चरणहरूलाई कुनै पनि खालको ‘प्रभाव’ले बिटुल्याउनबाट जोगाउन सकेकै कारण नतिजामाथि प्रश्न उठेको छैन । यद्यपि बेलाबखतमा मसिना आन्तरिक ‘छिद्र’ तथा ठुला बाह्य हस्तक्षेपले उठाउने गरेका प्रश्नहरू भने आयोगका लागि अप्रत्याशित चुनौती बन्दै आएका छन् । जसलाई सक्षम नेतृत्वले उसैगरी पार लगाउँदै यस अवस्थासम्म ल्याइपुर्‍याएको हो ।

नेतृत्वको अक्षमता भनौँ या अदूरदर्शीताका कारण यसपालि आयोगले नराम्ररी आलोचना खेप्न पुगेको छ । आफैले निर्धारण गरेको वार्षिक कार्यतालिकालाई आफैले विना कारण अन्तिम प्रहरमा सहसचिव र उपसचिवको विज्ञापन स्थगनको सूचना मार्फत उल्लङ्घन गर्‍यो । जुन सूचना यति अपरिपक्व, अस्पष्ट र द्विविधाजनक थियो कि विरोध नगर्ने कर्मचारी भेट्न मुस्किल भयो । ‘विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको’ भन्ने ब्यहोराले आयोगको नेतृत्वको ‘क्षमता’ माथि नै प्रश्नहरूको ओइरो लाग्यो । त्यही सूचना कारण खुलाएर प्रकाशन भएको भए सायदै यो तहको आलोचना आयोगले खेप्नु पर्दैनथ्यो ।

आयोग जस्तो गरिमामय संस्थाको अदृश्य कारण अनुमान कसरी गर्ने ? त्यो कारण के थियो जुन बताउँदा आयोगको गोपनीयता नै भङ्ग हुने अवस्था थियो र त्यसलाई जोगाउन अस्पष्ट सूचना प्रकाशित गर्नुपर्‍यो ? आफैले विज्ञप्तिका रूपमा उल्लेख गर्नुपर्ने सूचना माग्दासमेत जिम्मेवार पदाधिकारीहरू पन्छिएकै कारण कतिपय ‘असम्बन्धित र अमिल्दा’ लेखहरूले पनि कर्मचारीतन्त्रलाई तताई रहेको थियो। के त्यसले आयोगको छवि र शाख जोगाउँछ ? बढुवाको मुखैमा केही दिन वा महिना मात्रै अवधि बाँकी रहेका कर्मचारीहरूमा कस्तो असर पर्न गयो ?  वर्षौँदेखि परीक्षाको तयारीमा रहेका शिक्षित युवाहरूको मानसपटलमा के कुरा खेल्यो ?  सदैव सम्मानले हेरिँदै आएको लोक सेवा आयोगलाई एकाएक अपारदर्शी रूपमा पाउँदा शुभेच्छुकहरूलाई कति नमिठो महसुस भयो ? यी सवालहरू सवालकै लागि गरिएका हुन् कि आयोगकै गरिमा बचाउन भन्नेतर्फ आयोग नेतृत्व र जिम्मेवार कर्मचारीहरूले मनन गरुन् ।

अत्यन्तै कठिन र जटिल परिस्थितिमा पनि पार पाउँदै यसअघिका नेतृत्वकर्ताहरुले लिएका कदमलाई मनन गर्दै उठेका सवालहरूको जवाफ आफै भित्र खोजोस् र सहज निकास देओस् । औपचारिक कारण नै थाहा नपाइ समाधानका विकल्प सुझाउन नसकिने र त्यसो गर्नु मनासिब समेत नठहर्ने भएकोले कारण जुनसुकै होओस्, उपयुक्त निकास नै अहिलेको आवश्यकता हो । त्यो भनेको नबताइएको ‘विशेष कारणवश’का नाममा रोकिएको विज्ञापन तत्काल प्रकाशन गरियोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस