जग्गा कित्ताकाट : साढे दुई आनासम्म टुक्रा गर्न पाइने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जग्गा कित्ताकाट : साढे दुई आनासम्म टुक्रा गर्न पाइने 


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । जग्गाको कित्ताकाट साढे दुई आनासम्म टुक्रा गर्न पाइने  भएको छ। मंगलबारको मन्त्रिपरिषद बैठकले भू-उपयोग नियमावली २०७९ संशोधन गर्दै कित्ताकाटका लागि खुकुलो प्रावधान राख्ने निर्णय गरेको थियो।

निर्णयलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा प्रकाशन गरेको छ। मन्त्रिपरिषद् निर्णय राजपत्रबाट सार्वजनिक भएसँगै कार्यान्वयनका लागि बाटो खुलेको छ। झण्डै दुई वर्षदेखि कडा प्रावधानका कारण अवरुद्ध भएको कित्ताकाट शुक्रबारदेखि खुलेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव गोकर्णमणि दुवाडीले सार्वजनिक गरेको राजपत्रमा 

प्लानिङका लागि स्वीकृति लिएका र स्थानीय तहले निर्धारण गरेको मापदण्ड पुगेको बाटोले छोएका जग्गा साढे दुई अनासम्म कित्ताकाट गर्न सकिने उल्लेख छ।

यस नियमावलीले न्यूनतम १३० वर्गमिटर (चार आना दुई दाम) भन्दा कम कित्ताकाट गर्न नपाइने उल्लेख थियो। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले संशोधनपछि कित्ताकाट गर्न सहज हुने दाबी गरिन्। उनले भनिन्,’अब न्यूनतम ८० वर्ग मिटरसम्म कित्ताकाट गर्न पाइन्छ। यसले अंशवण्डा वा अरु तरिकाबाट कित्ताकाट गर्न सजिलो भएको छ।’

नियमावली संशोधनपछि वर्गीकरण नभएका स्थानमा पनि जग्गाको कित्ताकाट हुने भएका छन्। यसअघि जग्गालाई १० वर्गमा विभाजन गरेर मात्रै कित्ताकाट गर्न पाइने प्रावधान थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस