म्याग्दीका ६ हजार घरधुरीमा खानेपानीको पहुँच « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

म्याग्दीका ६ हजार घरधुरीमा खानेपानीको पहुँच


२५ श्रावण २०८०, बिहिबार


बेनी । म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो ।

जिल्लामा कार्यालय स्थापना भएको छ वर्षको अवधिमा सञ्चालित खानेपानी आयोजनाबाट ३१ हजार व्यक्ति लाभान्वित बनेका खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा मात्रै ३२ योजना सञ्चालन गरेकामा पाँच वटा निर्माण सम्पन्न भएका छन् ।

रानीपौवा, धारापानी, ढोलठान, डम्मरा र भगवतीमा सम्पन्न भएका खानेपानी आयोजनाबाट एक हजार ८८ घरधुरीका छ हजार जना लाभान्वित बनेको कार्यालयका इन्जिनियर राजेश उलकले जानकारी दिए । उनका अनुसार, एक वर्षमा एक सय १४ दशमलव ६० किलोमिटर पाइपलाइन जडान गरिएको छ । सोह्र पानी ट्याङ्की निर्माण भएका छन् भने एक हजार ५२ घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ । विपिटी, सिसी, डिसी र क्रसिङलगायतका ५४ वटा पूर्वाधार बनेका छन् ।

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको एक घर एक धारा खानेपानी अभियानले म्याग्दीमा तीव्रता पाएको छ । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत म्याग्दीमा स्थापना भएको यस कार्यालयले जिल्लामा खानेपानीको पहुँच विस्तारको लागि विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ । गत वर्ष प्रदेश सरकारमार्फत २४ खानेपानी आयोजना सञ्चालन गरेको यस कार्यालयले सङ्घतर्फ जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत आठ खानेपानी आयोजना सञ्चालन गरेको थियो ।

तथ्याङ्कअनुसार, हालसम्म ८८ दशमलव पाँच प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुगेको म्याग्दीमा अझै पनि १२ प्रतिशत जनसङ्ख्या खानेपानीको जोहो गर्न ३० मिनेटको समय खर्चनुपर्ने बाध्यतामा छन् । ‘आम नागरिकलाई शुद्ध खानेपानीको पहुँच पुर्‍याउन एक घर एक धारा खानेपानीको अभियान सञ्चालन भएको छ, खानेपानीको मुहानको भरपर्दो स्रोत नहुने र क्रमागत योजनामा बजेट थोरै विनियोजन हुने समस्याले योजनालाई समयमा नै पूर्णता दिलाउन समस्या छ”, कार्यालय प्रमुख पौडेलले भने ।

गत आवमा सम्पन्न भएको रघुगङ्गा गाउँपालिका-३ को रानीपौवा खानेपानी आयोजनाबाट एक सय २४ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । आव २०७३/७४ बाट सुरु भएको यस आयोजनालाई क्रमागत योजनाको रूपमा अघि बढाएको कार्यालयले कुल तीन ट्याङ्की, सात सय मिटर मुख्य र १७ दशमलव नौ किलोमिटर वितरण पाइपलाइन निर्माण गरेर पूर्णता: दिएको हो । खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको लागि एउटै धारोमा पालो लगाउनुपर्ने बाध्यता र झण्झट हटेको स्थानीय उमा कार्कीले बताए ।

रघुगङ्गा गाउँपालिका-२ भगवतीमा आव २०७५/७६ देखि सुरु भएको चिमखोला मुहान, दग्नाम पिप्ले भगवती खानेपानी आयोजनाको समेत निर्माण सम्पन्न गरिएको छ । चार वटा ट्याङ्की निर्माण भएको यस आयोजनाबाट चार सय ३२ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ । धौलागिरि गाउँपालिका–७ धारापानीमा पनि क्रमागत योजनाको रूपमा सञ्चालित खानेपानी आयोजना सम्पन्न भएर तीन सय ५३ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । आठ हजार पाँच सय मिटर मुख्य र २० किलोमिटर शाखा पाइपलाइन निर्माण भएको यस आयोजनामा दुई वटा ट्याङ्की र दुई वटा विपिटी निर्माण भएको छ ।

खानेपानीको चरम अभाव रहेको बेनी नगरपालिका–५ ढोलठानमा ढोलनाथ पुलाडाँडा खानेपानी आयोजना सम्पन्न भएर ८६ घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । यस आयोजनामा दुई वटा ट्याङ्की, एक हजार चार सय मिटर मुख्य र पाँच हजार पाँच सय ६० मिटर वितरण पाइपलाइन निर्माण गरिएको छ । एकाननब्बे घरधुरीमा खानेपानी वितरण हुँदै आएको बेनी नगरपालिका–६ को डम्मरा खानेपानी आयोजनाको ट्याङ्की मर्मत गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस