नेपालमा जनगणना नामक पुस्तक प्रकाशन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालमा जनगणना नामक पुस्तक प्रकाशन


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँले “नेपालमा जनगणना” नामक पुस्तक सार्वजनिक गरेको छ । विक्रम संवत् १९६८ देखि २०७८ सालसम्म नेपालमा सञ्चालित जनगणनाका विविध पक्षहरू समेटेर पुस्तक प्रकाशन गरिएको हो । 

पुस्तकमा विक्रम संवत् १९६८ सालदेखि २०७८ सालसम्म सञ्चालित जनगणनाका गणना प्रक्रिया, अवधारणा तथा परिभाषा, विशेषता, जनगणनाको समयमा सोधिएका प्रश्नहरू र नतिजा लगायतका विभिन्न विषयहरू समेटिएका छन् । 

केन्द्रीय तथ्याङ्क विभागका पूर्व महानिर्देशक तुङ्ग शिरोमणि बास्तोलाद्धारा लिखित पुस्तकमा विक्रम संवत् १९६८ सालमा भएको पहिलो जनगणना देखि विक्रम संवत् २०७८ सालमा भएको बाह्रौँ राष्ट्रिय जनगणनाका बारेमा विस्तृत रूपमा यस पुस्तकमा लेखिएकाले जनाइएको छ । 

पुस्तक सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार, नीति निर्माता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी लगायत सबैलाई अत्यन्त उपयोगी हुने राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक मनोहर घिमिरेले बताए । नेपालमा विक्रम संवत् १९६८ साल देखि जनगणना गरिन थालेको भएता पनि विक्रम संवत् २००९र११ मा सञ्चालित पाँचौँ जनगणनालाई वैज्ञानिक विधिबाट सञ्चालित पहिलो जनगणना मानिन्छ । 

बाह्रौँ राष्ट्रिय जनगणना विक्रम संवत् २०७८ साल कात्तिक २५ देखि मंसिर ९ गते सम्म  अक्सर बसोबासको अवधारणामा सञ्चालन भएको थियो । कोभिड १९ महामारीका कारण २०७८ जेष्ठ असारमा सञ्चालन हुन नसक्दा कात्तिक मंसिरमा जनगणना गरिएको थियो । यस जनगणनामा मंसिर ९ गतेलाई जनगणना दिवसको रूपमा लिइएको छ । यस जनगणनाको अन्तिम प्रतिवेदन २०७९ चैत्र १० मा सार्वजनिक गरिसकिएको छ । जनगणनाको अन्तिम नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । यसमा पुरुषको संख्या १,४२,५३,५५१ र महिलाको संख्या १,४९,११,०२७ रहेको छ ।विक्रम संवत् १९६८ को पहिलो जनगणना अनुसार नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार ७४९ रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस