माओवादीले विभाग र जनवर्गीय सङ्गठन घटाउने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

माओवादीले विभाग र जनवर्गीय सङ्गठन घटाउने


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट पार्टीका विभाग र जनवर्गीय सङ्गठनको संख्या घटाउने गरी छलफल अघि बढाएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकमा नेताहरूले पार्टीलाई विधि र विधानसम्मत बनाएर चलाउनुपर्ने, नेताहरूको कार्यविभाजन टुङ्गो लगाउनुपर्ने, विभागहरू घटाएर कामकाजी बनाउनुपर्ने तथा जनवर्गीय सङ्गठनको संख्या पनि घटाएर चुस्त प्रकारका सङ्गठन बनाउनु पर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । 

आगामी १७ असारका लागि तोकिएको पार्टी केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न बसेको उपलब्ध पदाधिकारीहरूको बैठकले बुधबार कुनै एजेन्डा तय नगरे पनि प्रारम्भिक छलफल गरेको ती नेताले बताए ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुक बाहिर रहेकाले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो ।

बैठकमा सहभागी पदाधिकारीहरूले पार्टीलाई विधान र विधिसम्मत चलाउनुपर्ने तथा पार्टीलाई उत्पादनमा जोड्नुपर्ने सुझाव दिएका छन् । साथै, आगामी केन्द्रीय समिति बैठक कसरी प्रभावकारी र फलदायी बनाउने भन्ने विषयमा समेत पदाधिकारीहरू धारणा राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस