गर्मी र वर्षासँगै सर्पदंशको चुनौती : छिटो अस्पताल जानु नै राम्रो विकल्प « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गर्मी र वर्षासँगै सर्पदंशको चुनौती : छिटो अस्पताल जानु नै राम्रो विकल्प


५ श्रावण २०८०, शुक्रबार


काठमाडौं । गर्मी र वर्षासँगै सर्पदंशका घटनाहरू वृद्धि हुने गर्दछन् । सर्पले डसेपछि बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा कतिपय बिरामीको ज्यान जाने गरेको छ । 

असारको अन्तिम साता मात्रै कपिलवस्तुमा ४ जनाको सर्पदंशबाट मृत्यु भएको छ । जेठदेखि भदौ महिनासम्म सर्पदंशको जोखिम हुन्छ । वर्षेनी सर्पदंशबाट मानिसको ज्यान जाने गरेको छ ।

नेपालका झन्डै २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिन्छन् । तराई क्षेत्रमा सर्पदंशको जोखिम बढी छ । पहाडी क्षेत्रका नदीका खोँचमा सर्प पाइन्छन् । 

नेपालमा पाइने सर्पमध्ये २० प्रजातिका सर्प विषालु मानिन्छ । र नेपालमा पाइने सर्पमध्ये २० प्रतिशत मात्र विषालु छन् । विषालुमध्ये पनि गोमन, करेत, हरेउ, बाघे सर्प जस्ता सर्पले डस्दा मानिसको मृत्यु हुने गर्दछ ।

विषालु सर्पले डसेपछि देखिने लक्षण

सर्पले डसेको ठाउँको छालाको रङ्ग रातो हुन्छ । सुन्निएको जस्तो लाग्न थाल्छ र दुख्न थाल्छ । हातखुट्टा झमझम गर्न थाल्छ । पेट दुख्ने, वाकवाकी लाग्ने र वान्तासमेत हुने गर्दछ । मांसपेशी कमजोर हुने गर्दछ ।

गोमन सर्पले डसेका बिरामीलाई आधादेखि एक घण्टाभित्र श्वासप्रश्वासमा समस्या देखिन्छ । टोकेको ठाउँ सुनिन थाल्छ । श्वास फेर्न गाह्रो हुन्छ ।

करेत सर्पले डसेका बिरामीमा बिस्तारै विष लाग्दछ । करेत सर्पले राती विस्तरामै आएर डस्दछ । यो सर्पले डसेका बिरामीमा आँखाले हेर्न गाह्रो हुने, मुख वरिपरिको मांसपेशी कमजोर हुने हुन्छ । टोकेको थाहा नपाएका कारण बिरामी अचानक बेहोस हुने गर्दछ । पेट दुख्ने, श्वास फेर्न गाह्रो हुने गर्दछ ।

बाघे सर्पले डस्दा बिरामीको मिर्गौला फेल भएर ज्यान जाने गर्दछ । सर्पले डसेको थाहा पाएपछि सक्दो छिटो सर्पदंश उपचार केन्द्र वा अस्पताल पुग्नु पर्छ ।

सर्पले डसेको बिरामी आत्तिनु हुँदैन । किन कि धेरै जसो बिरामी सर्पले डसेपछि आत्तिने गर्छन् र डरकै कारण पनि उनीहरूको मृत्यु हुने गर्दछ ।

सर्पदंशबाट जोगिन के गर्ने ?

सर्पदंशका धेरैजसो घटना रातीको समयमा भएका छन् । त्यसैले राती जमिन (भुईँ)मा नसुत्ने, खाटमा झुल लगाएर झुल भित्र सुत्ने गर्नु पर्दछ । आफू सुत्नु अघि बिस्तरा टकटकाएर सफा गरेर सुत्नु पर्दछ । 

रातिमा हिँड्नु परेमा टर्चलाईको प्रयोग गर्ने, बुट लगाउनु पर्दछ । घर वरिपरि दाउरा, इट्टाको थुप्रो पारेर नराख्ने, घर वरिपरि झाडी नराख्ने र सरसफाइ गर्ने गर्नु पर्दछ । सर्पका आहाराहरू मुसा, भ्यागुता घरमा आउन नदिने र आएमा तत्कालै हटाउने गर्नु पर्छ । घरमा प्वाल भएमा बन्द गर्नु पर्दछ । यसैगरी कुखुराका चल्ला र अण्डा छुट्टै स्थानमा राख्नु पर्दछ । 

दुईचार दिन नलगाएको जुता लगाउने बेलामा टकटकाएर लगाउनु पर्दछ । कोट वा अन्य कुनै कपडा लामो समयपछि लगाउँदै छौँ भने त्यो पनि टकटकाएर लगाउनु पर्दछ । किन कि कोटको खल्तिमा पनि सर्प बसेको हुन सक्छ ।

अचानक पेट दुख्ने, आँखाले हेर्न असहज हुँदै गयो, शरीर लट्ठ हुँदै गयो, श्वास फेर्न कठिन भयो भने थाहा नपाइ सर्पले डरेको हुन सक्छ । यस्तो समस्या देखिएमा पनि अस्पताल जानु पर्दछ ।    

के गर्नु हुँदैन ?

सर्पले डसेपछि बिरामी अत्तालिने भएकाले उनीहरूलाई शान्त राख्नु पर्दछ । सर्पले डसेको व्यक्ति आफैँ दौडिने अथवा बढी हलचल गर्ने गर्नु हुँदैन । यसले छिटो विष शरीरमा फैलिने सम्भावना कम हुन्छ । 

सर्पले टोकेको भागलाई नचलाई राख्नु पर्छ । छिटो अस्पताल पुग्नु पर्छ । डसेको ठाउँमा क्रस गरेर चिर्ने, मलम लगाउने, डोरीले बाँध्ने गर्नु हुँदैन । धामीझाक्री वा घरेलु उपचारमा लाग्नु हुँदैन ।

उपचार र औषधि

सर्पदंशको जोखिम रहेका २६ वटा जिल्लामा करिब ९० वटा सर्पदंश उपचार गर्ने सर्पदंश उपचार केन्द्र र अस्पताल छन् । सरकारको तर्फबाट स्नेक एन्टिभेनम निशुःक रूपमा उपलब्ध गराएको छ भने सर्पदंशबारे तालिमहरू पनि प्रदान गर्ने गरेको छ ।

भेरी अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. कृष्णप्रसाद आर्चायसँगको कुराकानीमा आधारित ।

Tags :
प्रतिक्रिया दिनुहोस