मिल्टन सरको सुखान्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मिल्टन सरको सुखान्त


१६ असार २०८०, शनिबार


पाँच जना कर्मचारी जोमसोमको टिकट काटेर पोखरामा बसेको सात दिन भयो । बिहान उठेर सबैले एयरपोर्ट फोन गरेर सोध्छन् , ‘मुस्ताङ खुल्यो ?’ कहिलेकाहीँ दस दिनसम्म खुल्दैन मुस्ताङ । खुल्ला खुल्ला जस्तो हुन्छ , हेरौं न त भनेर उडेको जहाज अलि पर पुगेर फर्कन्छ । उनीहरू पोखराको सबैभन्दा सस्तो होटेल छानेर बसेका छन् । खाएको पैसा तिरे पुग्छ , सुतेको पैसा लाग्दैन । उनीहरू बिहानको खानामा एक – एक हाफ खसीको मासु पनि खान्छन् ।

समूहका सबैसँग टिकट मात्र छ , पैसा सकियो । मिल्टन सरले एक जना थकालीसँग पाँच सय सापटी मागेर ल्याए । पाण्डे , गर्बुजा , गुरुङ र थ्री एम्बुस सबै सरहरुले मिल्टन सरलाई प्रशंसा गर्न थाले । ‘अहो मिल्टन सर ! तपाईं धन्य हुनुहुन्छ ।’ मिल्टन सर सबैलाई हेरेर मुस्कुराए । उनले भने , ‘जोमसोम पुगेर तलब बुझेपछि दिनुहोला ।’ मिल्टन सर थ्री एम्बुस सरतर्फ हेर्दै मुसुक्क हाँसे । थ्री एम्बुसले हात जोडेर भने , ‘मर्जी होस् हजुर !’ मिल्टनले भनेका थिए , ‘तपाईंले पैसा दिनु पर्दैन । मलाई त तपाईंका एम्बुसहरु सम्झेरै पैसा असुल भएको महसुस हुन्छ सुब्बासाब ।’

थ्री एम्बुसको वास्तविक नाम त्रिपुरनाथ हो । त्रिपुरनाथका तीनजना श्रीमती छन् I एक प्रकट र दुई अप्रकट । बरा उनी बिहानको खानामा मासु लिंदैनथे, तर जब झोल थप्ने क्रम चल्थ्यो , ‘भाउजू यता पनि है !’ भनेर लाज पचाउँथे । थकाल्नी भाउजुले सुब्बालाई आँखा तर्दै भन्थिन् ’बदमास बाउन ।’ तर झोल भने उनी नै बढी पाउँथे । सायद साहुनीमा थ्री एम्बुस सुब्बाप्रति हेलामिश्रित सहानुभूति थियो ।

अंग्रेजीको ए पनि नजान्ने त्रिपुरनाथलाई थ्री एम्बुसको अर्थ त्रिपुर दाह गर्ने महादेव भनेर बताइएको थियो । मनुष्यलाई आफूमा हुँदै नभएको गुणको बखान सुन्दा पनि कति खुसी लाग्छ भन्ने कुराका नमुना थिए उनी । वास्तवमा तिनतिर तिन श्रीमती राख्नु भनेको आफै विरुद्धमा तिनवटा एम्बुस थाप्नु हो भन्ने अर्थमा उनको उपनाम थ्री एम्बुस भनेर प्रसिद्ध भएको थियो । त्रिपुरनाथको स्थायी थेगो थियो , ‘मजबुरीका नाम महात्मा गान्धी ।’

दसौं दिनमा प्लेन उड्यो । तर गल्छीमा छिर्नासाथ केही पनि देखिन छाड्यो । सबैलाई थाहा थियो , त्यहाँबाट जहाज फर्काउन मिल्दैन । जहाज बेतहासा हल्लिरहेको थियो । लाग्दथ्यो जहाज कपासै कपासको संसारलाई उधिन्दै अज्ञात गन्तव्यतर्फ उडिरहेछ । अठार मिनेटमा ल्याण्ड गर्नुपर्ने जहाज डरलाग्दो आवाजसाथ बतासलाई चिर्दै कता उड्दै छ कसैलाई थाहा थिएन । सबै यात्रीहरु डरले कहालिएर चिच्याइरहेका थिए । तर मिल्टन सर भने दिल्लगी गर्नमा मग्न । उनी भन्दै थिए , ‘चिन्ता नगर्नुस् थ्री एम्बुस साब ! हामी मुक्तिक्षेत्रमा छौं । हाम्रो त दुईटै हातमा लड्डु छ ।’

सबै जय मुक्तिनाथ , जय बिन्दवासिनी , जय दामोदर , जय काली गङ्गा , जय धौलागिरी पुकारिरहेका थिए । मिल्टन सरले भने , ‘हरिको नाम लिनु त जहिले पनि फलदायी छ । तर आज हाम्रो ज्यान हरिको हातमा नभई क्याप्टेन शेरचनको हातमा छ । कमसेकम एकपल्ट जय क्याप्टेन शेरचन पनि भन्नुहोस् , सायद सुन्छन् कि ?’ नभन्दै मिल्टन सर बाहेक सबै सत्रका सत्र यात्रीहरु समवेत चिच्याए , ‘जय क्याप्टेन शेरचन !’ जब ज्यानको मामिला आउँछ मनुष्यले कसको पुकारा गर्दैन ? अचानक मिल्टन सर कराए , ‘लौजा !’ सबै डराएर चिच्याए जय शेरचन बाबा ! मिल्टन सर फेरि कराए , ‘आज बडो मजा आयो । अब तपाईंहरु डराउनु पर्दैन , तल हुलाक अफिसको टिनको छाना देखियो । अब त्यसैको सहारामा जहाज ल्याण्ड हुन्छ ।’ पोखराबाट उडेको छत्तिस मिनेटमा जहाज जोमसोम एयरपोर्टमा ल्याण्ड भयो । जहाजबाट ओर्लंदै क्याप्टेन शेरचनले भनेका थिए , ‘आज त मलाई पनि डर लाग्यो ।’

मिल्टन सरको जन्म कलकत्तामा भयो । उनी इण्डियन आर्मीका सुबेदार फूलबहादुर रानाका ‘लैन छोकरा’ थिए । बाबु फूलबहादुर अत्यन्तै रमाइला फौजी । साहेबहरुलाई खुसी राख्न नितान्त सिपालु थिए उनी । उनलाई मेजर मिलिन्द चोपडाले सोधेका थिए , ‘लडकेका नाम क्या रक्खा फूलबहादुर ?’ उनले झट्ट उत्तर दिएका थिए , ‘मिलिन्द साप ! मिलिन्द राना ।’ मेजरले भने ‘तुम्हे और कोई नाम नही सुझा जो मेरा नाम रख लिया ?’ फूलबहादुरको जवाफ थियो , ‘आप बहुत अच्छे आदमी हैं साप ! मैने ये नाम इसलिये रक्खा है कि मै आपको भूल न जाऊ ।’ औपचारिक दस्ताबेजमा मिलिन्द उल्लेख भए तापनि सर मिल्टन नामले चिनिन्थे ।

रसिक मिल्टन भन्ने गर्दथे , ‘म त आमालाई लात्तीले हानेको मान्छे ।’ उनको कुरा सुनेर मानिसहरु अचम्म पर्थे । आमालाई पनि कसैले लात्तीले हान्छ ? उनी मुक्तिनाथको सपथ खाएर भन्थे , ‘बारम्बार हानेको छु । परिस्थितिले वाध्य पारेपछि आमालाई पनि लात हान्नु पर्दोरहेछ ।’ सबैको जीवनमा विषम परिस्थिति आएको हुन्छ । परन्तु आमालाई लात्ती हान्नुभन्दा ठूलो अपराध के हुनसक्छ ? अनि सबैले आआफूले गरेको अपराधको बयान गर्न थाले । बाबुले भैंसी किन्न भनी ऋण काढेर ल्याएको पैसा चोरेर जुवा खेलेको , ससुरालमा सासुसँग झगडा गरेको , जेठो बाबुलाई पिटेको , आँप चोरेर भागेको , भिनाजुको गोजो रित्त्याएको , रिस उठेको छिमेकीको दैलोमा पिसाब गरेको । अनि सबैले एक मत भएर भनेका थिए , ‘जे भए तापनि आमा भनेको जननी हो । त्यसरी जननीलाई कुट्नु ठूलो पाप हो ।’ अनि मिल्टन सरले भनेका थिए ,’म सानो शिशु हुँदा आमाको एउटा स्तन चुस्दै अर्को स्तनमा लात हानेको थिएँ ।’ मिल्टन सरको चलाखीमा सबै स्तम्भित हुन्थे ।

केही समयअघिको कुरा हो । मिल्टन सर लगातार सात दिनसम्म रक्सी खाएर ढले । मिल्टन ‘चौबीसै घण्टा रक्सी खाएर ढल्छ’ भन्ने हल्ला फैलियो । नजिकका साथीहरु मिल्टन सरलाई हेर्न गए । सात दिनदेखि मुख नधोएको , दाह्री नकाटेको , लुगा नफेरेको , दाँत पनि नमाझेको । के गरेको मिल्टन सर यो ? ‘यो मेरो व्रत हो । मेरो यो प्रयोग पनि हो । लगातार सात दिनसम्म रक्सी मात्र खाएको मान्छे कस्तो हुन्छ भन्ने प्रयोग ।’ साथीहरूले ‘तपाईंलाई जन्डिस भएको छ’ भन्दै डाक्टरसँग सल्लाह गरेर अस्पतालमा भर्ना गरिदिए । त्यहाँ मिल्टन र डाक्टरबीच दरिलो दोस्ती गाँसियो । मिल्टन सरले डाक्टरसँग भनेका थिए , ‘हेर्नुस् डाक्टर साहेब , कुनै कुराको पनि बेफाइदै बेफाइदा हुँदैन रहेछ । यो सात दिने जाँड सेवनले मलाई दुई फाइदा भए । पहिलो चौबीसघण्टे जंड्याहाको व्यावहारिक अनुभव र दोस्रो अस्पतालको वास कस्तो हुन्छ भन्ने अनुभव । मलाई जण्डिस छैन भन्ने राम्ररी थाहा थियो , तर अस्पताल भर्नाको प्रतिकार गरिन । किनकि मेरा लागि यो एक अवसर थियो । यहाँ रक्सी खाने मान्छे खराबै हुन्छ भन्ने छवि बनाइएको छ । यही मुस्ताङ जिल्लामा मेरो एउटा साथी छ । उसले जति जाँड कसले खान सक्ला ? उसले कसैको कुभलो गर्दैन , कसैलाई सताउने काम गर्दैन , कसैप्रति कुनै गुनासो छैन । ऊ गौतम बुद्ध जस्तै सज्जन छ । हेर्नुस् डाक्टर साहेब ! यो सबै कुरा गरेर मैले रक्सी खानु ठीक हो भन्ने पैरवी गर्न खोजेको होइन I किन्तु हामीमा सकारात्मक भाव रहनुपर्छ । अनाहकमा कसैप्रति पनि नकारात्मक भाव राख्नु हुँदैन भन्ने मेरो निचोड हो । यहाँ रक्सी खाने सबै दुर्जन हुँदैनन् । खिर पुरी खाने सबै सज्जन हुँदैनन् ।’

प्रायः सबै कर्मचारीहरु आफ्ना पत्नीलाई सँगै राख्न नसके तापनि बेला बखतमा बोलाउँथे । तर मिल्टन सरकी पत्नी आएको कहिल्यै देखिएन । कर्मचारीहरुमाझ मिल्टन सरमा पुरुषत्व नभएको हुँदा श्रीमती सँगै बस्न नआएकी हुन् भन्ने गाइँगुइँ थियो । मिल्टन सरले नोकरी गर्न थालेको पन्ध्र वर्ष भयो र तमाम नोकरी अवधिको आधा समय यहीँ जोमसोममै बितिसक्यो । तर न उनी सरुवा माग्न गए , न त सरकारले उनको सरुवा गर्न आवश्यक सम्झ्यो ।

मिल्टन सरकहाँ काठमाडौंबाट मुस्ताङ घुम्न आउने कर्मचारीहरुको घुइँचो लाग्छ । केन्द्रका साथी आउँछन् र सोझै मिल्टन सरको कोठामा पुगेर झोला बिसाउँछन् । उनले कसैसँग कुनै गुनासो गर्दैनन् , तर अरुको गुनासो बडो सहानुभूतिपूर्वक सुनिदिन्छन् । एउटा आउँछ काठमाडौंबाट र भन्छ , ‘मोजमा छस् यार मिल्टन ! सधै भोजमा छस् । यो जोमसोम त एसियाको पेरिस हो । मार्फा जान मन लाग्यो मार्फा गयो , ठिनी जान मन लाग्यो ठिनी । नीलगिरीको काखको बसाइ , नजिकै मुक्तिनाथ भगवान । भुक्ति मुक्ति दुबै एकै ठाउँमा ।’ अर्को लण्डन , पेरिस , न्युयोर्क र मिलान घुमेर भ्याएको साथी आएर गुनासो गर्छ , ‘यो जिन्दगीमा टोकियो टेक्न नपाइने भयो । काठमाडौं यो जोमसोम जस्तो शुद्ध छैन साथी ! त्यहाँ त केवल दलालहरुको हालीमुहाली छ ।’ मिल्टनलाई दु:खी मित्रमा बडो दया लाग्यो । ‘अहो साथी ! तिमीलाई साह्रै कष्ट रहेछ काठमाडौंमा ।’ साथी मुक्तिनाथ घुमेर निन्याउरो मुख लिएर दु:खद काठमाडौंतिर फर्क्यो ।

मिल्टन सरले यसरी लामो समयसम्म यतै बसिरहनुपर्ला भनेर सोचेकै थिएनन् । उनले जोमसोममा एक वर्ष बसेपछि नियमानुसार सरुवा मागेका हुन् । उनी मान्छे बोकेर गएनन् , चाकरी र नेहोरा गर्न पनि गएनन् । थर्काउने र नेतागिरी गर्ने प्रवृत्तिको रगत उनको धमनीमा बग्दैन । जब सरुवा नै भएन , उनी जीवनभरि सरुवा नभए पनि कहिल्यै सरुवा नमाग्ने अठोट गरेर बसे । उनलाई मुस्ताङ आफ्नै जस्तो लाग्न थाल्यो । उनी जिल्लाकै सबैभन्दा प्रफुल्ल कर्मचारीको रुपमा प्रसिद्ध भए । सरकारी नोकरी खाएर एउटा सरुवा गराउन पनि नसक्ने लाछी भनेर उता धर्मपत्नी रुष्ट छिन् । आफू नजाँदा आनन्दले बस्न सक्ने मान्छे झन सँगै बस्न जाने हो भने त घरद्वारै त्याग्लान् भनेर उनी जोमसोम आएकी छैनन् ।
एक दिन अचानक रेडियोले फुक्यो , हाकिम मिल्टन रानालाई सरकारले तक्मा दियो रे । मिल्टन सर यो सुनेर आश्चर्यचकित भए । राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा अविस्मरणीय योगदान पुर्याए बापत विभिन्न महानुभावहरुलाई कृतज्ञ राष्ट्रले प्रदान गर्ने पदक प्राप्त गर्नु चानचुने कुरा थिएन । मिल्टन सर अर्को दिनको प्लेन चढेर काठमाडौं पुगे । उनलाई चिन्ने सबैले बधाई दिए । कतिले त ‘मुस्ताङको स्याउ र ब्राण्डीको कमाल’ भन्न पनि भ्याए । मिल्टनलाई उनले पदक पाउनुको कारणबारे गरिने विश्लेषण सुनेर बडो रमाइलो लाग्यो ।

उनी सचिवको कार्यकक्षमा छिरे । मिल्टन सरले भने , ‘सर नमस्कार हजुर ! मलाई पदक प्रदान गर्ने सिफारिस गर्नुभएकोमा … ।’

सचिव – बधाई छ मिलिन्दजी ।

मिल्टन – यो राष्ट्रको गरिमा अभिवृद्धि गर्न मेरो के योगदान छ र मैले तक्मा पाउने हजुर ? यो त राष्ट्रका लागि न्याय भएन । यो राष्ट्रले कहिल्यै बिर्सन नसक्नेगरी मैले गरेको योगदान के हो ? यो तक्मा छातीमा भिरेर मेरो इज्जत बढ्छ ? यो पाएर र लिएर के हुन्छ ? मलाई त यो एक राष्ट्रिय जगहँसाइ जस्तो लाग्यो । म राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याएका महानुभावहरुसँगै लाइन लागेर तक्मा थाप्न असमर्थ छु । मैले तक्मा भिरें भने मेरो इज्जत त बढ्दैन नै , उहाँहरुको गरिमामा पनि धक्का लाग्नेछ ।

सचिव – अन्यथा नलिनुहोस् मिलिन्दजी । मैले त तपाईंको माया लागेर सिफारिस गरेको हुँ ।

मिल्टन – यो कस्तो माया हो सचिवज्यू ? तपाईंले मलाई माया गर्नुभएको हो कि व्यङ्ग्य ? मलाई त माया होइन , न्यायको आशा थियो । माया , दया , मोलाहिजा , नातावाद , मित्रवाद र द्रव्यवादले देश चल्दैन सर । सबैले सबैलाई माया गर्नुपर्छ , तर राष्ट्रको मूल्यमा होइन ।

एक दिन बिहान सबेरै अचानक कसैले मिल्टन सरको कोठाको ढोका हान्यो । सरले ढोका खोले । अहो आश्चर्य ! मिल्टन सरकी धर्मपत्नी मीनाक्षी मुसुक्क हाँस्दै उभिइरहेकी । ‘म अब सधै यता बस्नेगरी आएको । यही ठाउँमा बसेर तक्मा पाएको देखेर मलाई के महसुस भयो भने यो राष्ट्र र विशेष गरी मुस्ताङलाई तपाईंको ठूलो खाँचो छ ।’ मिल्टन सर दङ्ग परे ।

जोमसोम बजारमा मिल्टन सरसम्बन्धी दुई हल्ला चले । पहिलो थियो , तक्मा र दोस्रो थियो मीनाक्षी म्याडमको आगमन । सरले दिउँसो चियापानको आयोजना गरे । उनले सबै प्यारा साथीहरूलाई हार्दिक धन्यवाद दिए। उनले भनेका थिए , ‘कुनै पनि कुराको दु:खद पक्ष मात्र हुँदैन । सकारात्मक तवरले हेर्ने हो भने हरेक घटनाको सुखद पक्ष पनि हुन्छ । मलाई यहाँका कतिपय मित्रहरूले पुरुषत्वको अभावले गर्दा मेरो पत्नी यहाँ नआएको हो भनेर गरेको खासखुसबारे राम्रो थाहा छ । यस्ता निच्याउने हल्ला हाम्रो समाजका रमाइला विशेषता हुन् । मलाई यस्ता कुराले कहिल्यै क्रोधित पार्न सकेनन् । मैले तक्मा पाउनु राष्ट्रिय लज्जा हो , किन्तु यही तक्माले मेरी धर्मपत्नीलाई मेरो नजिक ल्याइदिएको छ । दोष न उनको थियो , न त मेरो । तर परिस्थिति हामी दुबैको विपरीत गएकै हो । मेरी श्रीमती मसँग नहुँदा पनि मलाई आनन्द थियो । त्यो अनुपस्थितिमा मलाई एकान्तको सुख प्राप्त भएको थियो । अहिले उनी आउँदा पनि म नितान्त प्रसन्न छु , किनकि मलाई पत्नीसुख प्राप्त हुने भयो ।’

त्यही दिन साँझ काठमाडौंबाट एकजना परिचित कर्मचारी आइपुग्यो । उसले मिल्टनलाई सुनाएको थियो , ‘सचिव तपाईंसँग आगो भएको छ ।’ मिल्टनले भनेका थिए , ‘अहो साथी ! यो त बडो खुसीको कुरा हो । हिजो उहाँले मलाई माया गर्दा म आगो भएँ । आज उहाँ आगो भएको सुनेर म पानी भएँ । आज मलाई खुसी लागेको छ , किनभने म पनि कसैलाई आगो बनाउने औकात राख्दो रहेछु ।’

अर्को दिन मिल्टन सर निकै तरोताजा भएर अफिस गए । आज सरको आभा अत्यन्तै समुज्ज्वल देखिएको थियो । उनले भनेका थिए , ‘ल साथी हो ! अब जिन्दगी झनै खुसहाल हुने भयो । आज मेरो साथमा मेरी धर्मपत्नी छिन् । म हिजोको एक्लो मिल्टन होइन । अब यो जोमसोमको जिन्दगी बिन्दास हुने भयो । म जीवनको सर्वाधिक प्रसन्न अवस्थामा छु ।’

यस्तैमा कसैले मिल्टन सरको हातमा एउटा पत्र दियो । सरले पत्र पढे । लेखिएको थियो , ‘तपाईंलाई पोखरा सरुवा गरिएको छ ।’ मिल्टन सरको मुहार झनै चम्किलो देखियो । सचिवको रिसको आगोले मिल्टन सरको स्वाभिमानमा डढेलो झोस्न खोजेको थियो । परन्तु त्यो आगो मिल्टन सरका लागि काली गण्डकीको शीतल अभिषेक र मुक्तिनाथ बाबाको असीम आशीर्वाद बनेर आएको थियो । अर्को साता प्रसन्न चित्त मिल्टन सर र मीनाक्षी म्याडम पोखरातिर उडे I

प्रतिक्रिया दिनुहोस