पहाड र हिमालमा पनि सङ्गठन विस्तार गर्ने सीके राउतको तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पहाड र हिमालमा पनि सङ्गठन विस्तार गर्ने सीके राउतको तयारी


१२ असार २०८०, मंगलबार


काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पहाड र हिमाली क्षेत्रमा पनि सङ्गठन विस्तारलाई तीव्रता दिएको छ ।

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट तराई मधेशमा राम्रो जनमत हासिल गरेको उक्त पार्टीले देशका ७७ वटै जिल्लामा सङ्गठन विस्तारका लागि सार्वजनिक रूपमै आह्वान गरेको छ । तराई मधेशका २३ वटा जिल्लामा सङ्गठन विस्तार गरिसकेको जनमत पार्टीले बाँकी ५४ वटा जिल्लामा नेतृत्वको खोजी गरिरहेको छ ।

पार्टीमा आबद्ध भएर काम गर्न चाहनेहरूका लागि अनलाइनमार्फत खुल्ला आह्वान गरेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिएका छन् । उनका अनुसार जनमत पार्टीले आगामी निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिने योजना बनाएकाले अहिले सङ्गठन विस्तार सुरु गरिएको हो ।

‘हामी पहिलो निर्वाचनबाटै राष्ट्रिय पार्टीको रूपमा उदायौँ, अब पार्टीको सांगठानिक संरचना पनि राष्ट्रव्यापी बनाउन लागेका छौँ’, नेता साहले भने, ‘हिमाल पहाडका जनताले पनि डा. सीके राउतको नेतृत्वलाई स्वीकार गर्दै हुनुहुन्छ । हामी हिमाली र पहाडी भेगका जनतालाई पनि समेटेर पार्टी विस्तार गर्दैछौं ।’

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै जनमत पार्टीको वेबसाइटबाट फारम भर्न वा पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस