भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले भक्तपुरलगायत काठमाडौँ उपत्यकाभित्रको लालपुर्जाविहीन स्ववासी समस्या समाधान गर्ने बताएकी छन् ।
बिहीबार उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले मन्त्री श्रेष्ठलाई भेटी स्ववासी र बेनिस्साका घर खेत दर्ता खुला गर्नुपर्ने माग ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, “मलाई तपाईँहरूको समस्याबारे राम्रैसँग जानकारी छ, हजारौँ वर्षदेखि आफ्नै थातथलोमा बस्दै आएका स्ववासी र जग्गाको निस्सा नभएका स्थानीयलाई लालपुर्जा उपलब्ध गराउन म सहजीकरण गर्नेछु, म मेरै कार्यकालमा भूमिसम्बन्धी समस्या समाधान गर्नेछु ।”
सङ्घर्ष समितिकी संयोजक पृथविन्दु महर्जनको नेतृत्वको टोलीलाई मन्त्री श्रेष्ठले पीडित स्ववासीको पक्षमा आफू सधैँ उभिने बताइन् । विसं २०७२ मा जारी भएको नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्पत्तिको हक प्रत्यायोजन गरेको भए पनि संविधान बमोजिम अधिकार प्राप्त नभएकोमा टोलीले मन्त्रीसँग गुनासो गरेका थिए ।
काठमाडौँ उपत्यकाभित्रका तीन सहरका पुराना बस्तीमा पुस्तौँदेखि बसोबास गर्दै आएका धेरै स्ववासीले लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् ।