डोटीमा लागु औषध नियन्त्रणलाई साझा सवालको रूपमा अगाडी बढाउन जोड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा लागु औषध नियन्त्रणलाई साझा सवालको रूपमा अगाडी बढाउन जोड


१९ जेष्ठ २०८०, शुक्रबार


डोटी । डोटीमा लागु औषध नियन्त्रणलाई सबैको साझा सवालको रूपमा अगाडी बढाउन एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

सामाजिक विकास कार्यालय डोटीको सहकार्यमा बिहीबार जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको लागु औषध नियन्त्रणमा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले लागु औषध लाई साझा सवालको रूपमा अगाडी बढाउन आवश्यक रहेको बताएका हुन् ।

पछिल्लो समयमा डोटी जिल्लामा लागु औषध सेवन तथा ओसार पसारका घटनाहरू दिनानुदिन वृद्धि भइरहेकोले यसको नियन्त्रणमा सरोकारवाल निकाएको ध्यान जान आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले बताए ।

उनले भने प्रहरीको तथ्याङ्क अनुसार डोटीमा पहिले लागु औषध सम्बन्धीका घटनाहरू थिएनन् पछिल्लो बर्सहरूको तथ्याङ्क हेर्दा आ.व.२०७६/०७७ मा चरेस सहित २ जना, आ.व.२०७७/०७८ मा चरेस सहित २ जना, आ.व. २०७८/०७९ मा हिरोयन सहित २ जना र चालु आ.ब.मा हिरोयन सहित ८ जना पक्राउ परेकोले लागु औषधका घटनाहरू दिनानुदिन दिन वृद्धि भइरहेको बताए ।

डोटीमा ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रमा लागु औषध प्रयोगकर्ताहरू बढी देखिने गरेको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन श्रेष्ठले बताए । यस विषयमा बालबालिका र समुदायलाई जानकारी गराउन आवश्यक रहेको समेत डा. श्रेष्ठले बताए ।

लागु औषध नियन्त्रण लाई सबैको साझा सवालको रूपमा अगाडी बढाई सबै निकाएको सहयोग आवश्यक रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने नेपालमा लागु औषध प्रयोगकर्ता र ओसार पसारका घटनाहरू दिनानुदिन बढिरहेका छन डोटीमा प्रहरीको तथ्याङ्क हेर्दा पनि त्यही देखिन्छ प्रहरीको रेकर्ड भन्दा बाहिर पनि धेरै रहेको त्यसैले यस विषयमा सबैको ध्यान जान आवश्यक रहेको बताउनु भयो । स्वास्थ्य कार्यालयले विद्यालय स्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको समेत प्रमुख मलासीले बताए ।

लागु औषध नियन्त्रण गर्न विद्यालय र समुदाय स्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी अभियानको रूपमा अगाडी बढाउन आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । स्थानीय तहहरूलाई आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमहरूमा लागु औषध नियन्त्रण सम्बन्धी कार्यक्रम तय गर्न समन्वय गर्ने समेत समन्वय प्रमुख सिंहले बताए ।

लागु औषध नियन्त्रण गर्न कुनै सङ्घ संस्था, व्यक्तिको एकल प्रयासले नभई सबैको साझा प्रयास आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए ।

लागु औषध, घरेलु हिंसा, बालविवाह जस्ता कुरुतीहरुको अन्य गर्न प्रहरी प्रशासन मात्र नभई स्थानीय सरकार, विभिन्न बाल क्लब, नागरिक समाज, युवा क्लब, महिला समूहहरू एकजुट भएर अगाडी बढ्न आवश्यक रहेको समेत प्रजिअ श्रेष्ठले बताए । स्थानीय सरकारले लागु औषध नियन्त्रण गर्न योजनाका साथ अगाडी बढ्न आवश्यक रहेको समेत प्रजिअ श्रेष्ठले बताए ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख प्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, बाल क्लब, पत्रकार, सङ्घ संस्थाका प्रमुख प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस