जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउने संसदीय समितिको निष्कर्ष « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउने संसदीय समितिको निष्कर्ष


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ ।  संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधबार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पहिचानका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो।

समितिले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनमा जलहरी बनाएर बाँकी रहेको सुनको १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरिए पनि बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने काममा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको भन्दै यस सम्बन्धमा महालेखा परीक्षकका पदाधिकारी र सरकारसँग छलफल गरी सत्यतथ्य पहिचानको लागि पहल गर्नुपर्ने बताएको छ।

त्यस्तै, २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मन्दिर प्राङ्गणका विभिन्न संरचनाहरूको पुनः निर्माणको कामलाई तीव्रता दिनुपर्ने जनाएको छ। त्यसैगरी पशुपति क्षेत्र विकास कोषसँग भाडा सम्झौता गरी मारवाडी सेवा समितिले चलाइरहेको सटरहरूको नयाँ भाडादर कायम गर्नुपर्ने देखिएको भन्दै त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरी निष्कर्ष निकाल्नुपर्ने पनि समितिको सुझाव छ।

समितिले २०७९ चैत्र २६ गते पशुपति क्षेत्रको स्थलगत अनुगमन गरेको थियो। सो अनुगमनको क्रममा देखिएका समस्याहरूको समाधान गर्न समितिले विभिन्न सुझावहरू दिएको हो। समितिले श्लेषमान्तक वनमा मृत शरीर गाड्ने अवाञ्छित गतिविधि भइरहेको भन्दै उच्च सतर्कता सहितको सुरक्षा तथा निगरानी प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख गरेको छ।

पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सन्तोषजनक नदेखिएकाले यसतर्फ पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको उपसचिव सरिता राना मगरले बताइन्। पशुपतिनाथ मन्दिर परिसरभित्रका अन्य मन्दिरहरूको सुरक्षाका लागि व्यवस्थित सुरक्षा प्रणाली अपनाउनुपर्ने पनि उनले बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस