बिहीबारदेखि विराटनगर भन्सार यार्डसम्मै कार्गो रेल आउने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बिहीबारदेखि विराटनगर भन्सार यार्डसम्मै कार्गो रेल आउने


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । विराटनगरको एकीकृत भन्सार जाँचविन्दु (आईसीपी) मा निर्माण भएको रेल्वे यार्डसम्म कार्गो रेल सेवा सञ्चालन हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार नयाँ दिल्लीमा कष्टम यार्डको संयुक्त रूपमा उद्घाटन गरेर कार्गो रेल सञ्चालनको अनुमति दिने तयारी गरेको विराटनगर भन्सारले जनाएको छ ।

भन्सार यार्डसम्म कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगका कच्चा पदार्थ र उत्पादित वस्तुको आयात निर्यात कार्गो रेलबाट हुनेछ । उद्घाटनको दिन फलाम उद्योगको कच्चा पदार्थ कार्गो रेलबाट आयात गर्ने उद्योगीको तयारी छ । यसअघि पनि फलाम उद्योगका कच्चा पदार्थ रेलबाट आयात वथनाहसम्म ल्याएर त्यहीँ अनलोड गरेर ट्रक मार्फत भन्सार यार्ड ल्याउने गरिएको ढकालले बताए । अब भने भन्सारसम्मै कार्गो रेलबाट आयात हुनेछ ।

भन्सार यार्डसम्म कार्गो रेल सेवा सुरु भएपछि औद्योगिक कच्चा पदार्थको ढुवानीमा कम्तीमा ४० प्रतिशत लागत न्यून हुने मोरङ व्यापार सङ्घकाको भनाइ छ । सुनसरी मोरङ औद्योगिक करिडोरमा साना ठूला गरेर पाँच सय उद्योग छन् ।

भारतको बथनाहदेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर लम्बाई रहेको ब्रोडगेज रेल्वे मार्ग करिब चार अर्ब भारुको लागतमा भारतको इरकोन कम्पनीले सन् २०११ मा निर्माण सुरु गरेको थियो । सन् २०१७ मा निर्माण सकिनु पर्ने उक्त योजना नेपाल पक्षको कमजोरीका कारण अहिले पनि अधुरै छ ।

निर्माण सुरु भएको १२ वर्ष बित्दा बथनाहदेखि विराटनगर आईसीपीसम्मको साढे ७ किलोमिटर मात्रै रेलमार्ग सञ्चालनका लागि तयारी पूरा भएको छ । निर्माण सम्पन्न भएको क्षेत्र भारतीय पक्षले नेपाललाई पटक पटक जिम्मा लिन आग्रह गर्दापनि नेपाल पक्षले जिम्मा नलिँदा कष्टम यार्डसम्म कार्गो रेल सेवा सञ्चालन हुन सकेको थिएन । भारतको बथनाहा रेलवे स्टेसनबाट विराटनगरको बुधनगरस्थित कष्टम यार्डसम्मको साढे सात किलोमिटर दूरीको रेल मार्गमा भारतले पहिलो पटक २०७६ कात्तिकमा लिग परीक्षण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस