सहकारीमा कर बढाएकोप्रति असन्तुष्ट महासङ्घले दियो आन्दोलन गर्ने चेतावनी  « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

सहकारीमा कर बढाएकोप्रति असन्तुष्ट महासङ्घले दियो आन्दोलन गर्ने चेतावनी 


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ। बजेटमार्फत बचत तथा ऋणको कारोबार गर्ने सहकारीको आयकर शत् प्रतिशत वृद्धि गर्ने सरकारको घोषणाप्रति राष्ट्रिय सहकारी महासङ्घले असन्तुष्टि जनाएको छ ।

सरकारले बजेटमार्फत वृद्धि गरेको आयकर फिर्ता नलिए सङ्घर्षको कार्यक्रम गर्ने महासङ्घले बताएको छ  ।

मङ्गलवार महासङ्घले एक विज्ञप्ति जारी गर्दै आर्थिक अवस्था असामान्य भएको वर्तमान समयमा न्यून र मध्यम आयस्तर भएका नागरिकहरुबाट नै सञ्चालित सहकारीमा आयकर बढाउने निर्णय उचित नभएको बताएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेस गरेको आर्थिक विधेयकमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीको आयकर शत् प्रतिशतले बढाएको थियो ।

नगरपालिकाभित्र सञ्चालित बचत तथा ऋणको कारोबार गर्ने सहकारीको कर ५ बाट १० प्रतिशत, उपमहानगरभित्र सञ्चालित बचत तथा ऋणको कारोबार गर्ने सहकारीको कर ७ प्रतिशतबाट १५ प्रतिशत र महानगरभित्र बचत तथा ऋणको कारोबार गर्ने सहकारीको कर १० बाट २० प्रतिशत पुर्‍याएको थियो । उक्त वृद्धि भएको कर फिर्ता लिनुपर्ने अन्यथा सङ्घर्षको कार्यक्रम ल्याउने महासङ्घले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस