आफूविरुद्ध लगाइएको आरोप पुष्टि नगरे संसद् अवरुद्ध गर्ने ओलीको चेतावनी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

आफूविरुद्ध लगाइएको आरोप पुष्टि नगरे संसद् अवरुद्ध गर्ने ओलीको चेतावनी


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरुद्ध हुनैपर्ने बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगै बोल्दै उनले आफूविरुद्ध भ्रष्टाचारको आरोप लगाएको भन्दै पुष्टि गर्न चेतावनी दिए ।

जेठ १० गतेको संसद्मा नेकपा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरी सुनको हुनुपर्नेमा पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । ओलीले आफूले भ्रष्टाचार गरेको आरोप लगाइएको भन्दै आपत्ति जनाए ।

“अस्तिको दिनमात्रै माओवादीका एक सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो ? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्‍यो भनेर एकजना सांसदले बोले,” ओलीले भने । ओलीले त्यसमा संसद् अवरुद्ध भएको बताउँदै अवरोध हुनैपर्ने बताए ।

“संसद् अवरुद्ध हुनैपर्छ । यस्तो बकवास । जड्याहाले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दै हिँड्दैन ।आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा,” उनले भने । कि पुष्टि हुनुपर्छ । पुष्टि हुने सम्भावना नै नभएको उनले दाबी गरे । उनले आफू भ्रष्टाचारविरुद्ध आन्दोलन चलाइरहेको भन्दै देशप्रतिको वितृष्णा जगाउन देशद्रोही काम भएको आरोप लगाए ।

“जसले जिन्दगीभरी भ्रष्टाचार विरोधी आन्दोलन चलाएर आएको छु, त्यही मान्छेकाविरुद्ध । यो त इमानका शत्रुहरूले गर्ने काम हो,” ओलीले भने, “देशद्रोही तत्त्वले यो देशमा चाहिँ कोही पनि इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रतिकै वितृष्णा जगाउने देशद्रोही काम हो ।”

Tags :
प्रतिक्रिया दिनुहोस