बुटवल-वसन्तपुर केबलकार जेठ १५ देखि सञ्चालन गर्ने तयारी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बुटवल-वसन्तपुर केबलकार जेठ १५ देखि सञ्चालन गर्ने तयारी 


७ जेष्ठ २०८०, आइतबार


बुटवल । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केबलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । 

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा न. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माण सम्पन्न भई हाल प्राविधिक परीक्षण सुरु गरिएको छ । 

यही जेठ १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए । उनका अनुसार वसन्तपुरमा निर्माण गरिएको कामाख्या देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन गरिने भएको छ । 

केबलकारको आधार स्टेसन बुटवलको वडा न. ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ । केबलकारको लम्बाई २।६ किलोमिटरको हुनेछ । 

केबलकारमा २५ वटा गोण्डुला रहनेछन् भने एउटा गोण्डुलामा एकैपटक आठजनाले यात्रा गर्न सक्नेछन् । साथै प्रतिघण्टा अधिकतम ६०० यात्रुलाई सेवा दिन सकिनेछ भने केबलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ । 

व्यवस्थापक साउदका अनुसार यस आयोजनामा करिब पाँच अर्ब लगानी भएको छ । जसमा केबलकार, क्यासिनोसहितको १५० कोठाको पाँच तारे होटेल, कामाख्या देवीको मन्दिर, रेष्टुराँ तथा बार र पार्क निर्माण गरिनेछ ।

वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित केबलकार निर्माण गरिएको हो । केबलकार सञ्चालनमा आएसँगै यस आसपासका क्षेत्रमा पर्यटन विकाससँगै आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ । केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस