अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण र रोजगारी दिनुपर्छ : माधव नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण र रोजगारी दिनुपर्छ : माधव नेपाल


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताएका छन् ।

अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै उनले रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताएका हुन् ।

धनगढीमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले भने, ‘यसबारे कुरा उठेकै हो । यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन । पीडितहरूलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’

मुलुक आर्थिक सङ्कटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उनको तर्क छ । यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उनको बताए ।

अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक सङ्कटबारे गठबन्धनमा आबद्ध दलहरू गम्भीर भएको दाबीसमेत गरे ।

‘अर्थतन्त्रको अवस्था कसरी सुधार गर्ने भन्नेबारेमा हाम्राबीचमा गम्भीर रूपमा छलफल भइराखेकै छन्,’ नेपालले भने, ‘नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ । कम खर्च कसरी गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, अनावश्यक परियोजना सबै रोक्नुपर्छ । पैसा बाँड्ने होइन उत्पादनमुखी क्षेत्रमा लगाउनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस