विकासले दिएको पीडा : घरबारविहीन बने केमबहादुर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विकासले दिएको पीडा : घरबारविहीन बने केमबहादुर


२ बैशाख २०८०, शनिबार


गुल्मी । रिडी– खर्ज्याङ-बलकोट सडक खण्ड विस्तारको काम हुँदैछ । सडक पीच हुने भएपछि उक्त सडक उपभोग गर्नेहरू खुसी छन् । धेरैलाई खुसी दिएको सडकले केहीलाई असह्य पीडा पनि दिएको छ । घरबार विहीन नै बनाइदिएको छ ।

सडककै कारण उठीबास हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. ६ का केम बहादुर नेपाली छन् । सडक निर्माण हुँदै गर्दा नेपालीले २०५७ सालमा ५ लाख रुपैयाँ खर्च गरेर बनाएको घर भत्किएको छ । २०४९ सालमा रिडी-खर्ज्याङ-बलकोट सडकको ट्र्याक खोल्ने क्रममा आफैँ खन्न गएको बाटोले घरबार विहीन नै बनाउँछ भन्ने उनले कल्पना पनि गरेका थिएनन् । ‘गाउँमा बाटो आउला र सुख पाउँला भनेर बाटो खन्न गइयो । अहिले त्यही बाटोले घर खाइदियो,’ उनले भने । 

घर तलबाट बाटो खनिएका अन्यको जस्तै हो उनको पीडा पनि । ट्र्याक खोलेसँगै प्रत्येक वर्षको वर्षामा कति बेला घर पहिरोले लैजान्छ भन्ने चिन्ताले नेपालीलाई सधैँ सताई रहन्थ्यो । २०४८ सालबाट ट्र्याक खोल्ने काम सुरु भएको उक्त सडकले पूर्णता भने २०५१ सालमा पाएको थियो । 

सडक निर्माणसँगै जोखिममा परेको घर अहिले विस्तार गर्ने क्रममा भत्किएको हो । घर भत्किएपछि उनी श्रीमतीसँगै छोराको छाप्रोमा बस्दै आएका छन् । उनका तीन छोरा र दुई छोरी छन् । छोराहरू कमाउन भारत गएका छन् भने छोरीहरूको विवाह भइसकेको छ । ‘छोरा छोरी लाखापाखा लागि सके । छुट्टिँदा घर हामी बूढाबूढीलाई परेको थियो । अहिले भत्कियो ।’ नेपालीले भने, ‘अब भोलि के हुन्छ ? थाहा छैन ? बिचल्लीमा परेकालाई हेर्छ कसले ?’

नेपालीको मात्रै होइन सडक विस्तारका क्रममा अन्य करिब एक सय घरमा क्षति पुग्ने अनुमान गरिएको छ । छत्रकोट गाउँपालिका वडा नं. ६ का सदस्य सन्तोष ढकालका अनुसार सडक निर्माणको काम गरिरहेको सगुन कन्स्ट्रक्सन, मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मी र पालिकाका जनप्रतिनिधिहरूको रोहवरमा घरमा क्षति पुगेकालाई क्षतिपूर्ति दिलाउने गरी काम भइरहेको बताए । उनले भने, ‘फाइलहरू पेस भएको छ । टहरो बनाउन वडाले सहयोग गर्ने छ ।’

छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले घरमा क्षति पुगेकालाई पालिकाले सहयोग गर्ने बताए । ‘पालिकाले जनता आवास अन्तर्गत ७५ हजार रुपैयाँसम्म सहयोग गर्छ,’ उनले भने, ‘विपद्मा परेकाहरूलाई पालिकाले अवस्था हेरिकन ५० हजार रुपैयाँको आसपासमा सहयोग गर्न सक्छ । यसमा कार्यपालिकाबाट निर्णय हुन्छ ।’ सडक निर्माण र विस्तारका क्रममा केही घरमा भएको उनले जानकारी दिए । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय र गाउँपालिका बीच छलफल गरेर  आवश्यक सहयोग गरिने उनले बताए ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका अनुसार सडक विस्तारका क्रम क्षति पुग्ने घरहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ । कार्यालयका सूचना अधिकारी इ. वीरेन्द्र प्रकाश गुप्ताका अनुसार बस्ती भएका  स्थानमा काम सुरु भएको छ । उनले भने, ‘क्षति हुने घरको तथ्याङ्क निकाल्ने काम भइरहेको छ । क्षति हुनेले क्षतिपूर्ति पाउनु पर्छ भन्ने हाम्रो मनसाय छ । नागरिकलाई मार पर्ने गरी काम गर्दैनौँ ।’

रिडी– खज्र्याङ– बलकोट सडक खण्डको २७.६७ किमी पीच हुन लागेको हो । सडक ९ मिटर चौडा गर्न लागिएको छ । ९८ करोड ५८ लाख ३४ हजार ३ सय ९५ रुपैयाँमा सडक निर्माणका लागि २०७८ असार २७ मा सगुन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । २०८० चैत २६ मा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस