बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य


२८ चैत्र २०७९, मंगलबार


जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य गरेको छ।

उक्त पालिकाको– ५ मा पर्ने दुर्गम चार वटा गाउँलाई बालविवाहमुक्त गाउँ घोषणा गरिएको छ । दिगो विकासको लक्ष्यअनुरूप पातारासीका गाउँलाई बालविवाहमुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।

यहाँका आठ वटा स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका–५ वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । अध्यक्ष बोहोराले भने, ‘विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणबाट देखिएपछि बालविवाहमुक्त गाउँ घोषणा गरिएको हो ।’ अब अरु वडालाई छिट्टै बालविवाहमुक्त गरिने भएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेको सामाजिक विकृति रोकथाम गर्न यो महत्त्वपूर्ण काम भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताए ।

बालविवाहमुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा यससम्बन्धी परियोजना लागू गरेर अन्ततः बालविवाह शून्यमा झार्न सफल भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस