सफल बन्दै सडक मानवमुक्त अभियान « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सफल बन्दै सडक मानवमुक्त अभियान


२२ चैत्र २०७९, बुधबार


गलकोट । बागलुङ, पर्वत र म्याग्दीमा सडक मानवमुक्त अभियान प्रभावकारी बन्दै गएको छ । छ वर्ष पहिला सडक मानवमुक्त अभियानका निम्ति खोलिएको मानव सेवा आश्रम बागलुङ शाखाको सक्रियताका कारण सडक मानवमुक्त अभियान सफल हुँदै गइरहेको छ ।

अहिले कालिका मन्दिर परिसरमा मागेर खाने सडक मानव देख्न पाइँदैन । उनीहरूको उद्धार, उपचार र आश्रय दिएपछि विगत एक वर्षदेखि कालिका मन्दिर परिसरमा सडक मानव देखिँदैन । यस्तै बागलुङका विभिन्न चोक तथा गल्लीमा देखिने सडक मानव क्रमशः घट्दै गएका छन् ।

आश्रमले धवलागिरिको म्याग्दी, पर्वत र बागलुङलाई सडक मानवमुक्त अभियान बनाउने लक्ष्यका साथ सडक तथा बेसहारा मानवहरूको उद्धार, उपचार, हेरचाह तथा पुनःमिलन गराउँदै आएको छ । विभिन्न कारणले गर्दा सडकमा अत्यन्तै कष्टकर जीवन बिताउँदै आएका सहयोगापेक्षी तथा बेसहारा सडक मानवको उद्धार, उपचार र व्यवस्थापन गर्नाले सडक मानवमुक्त अभियान क्रमशः सफल बन्दै आएको आश्रमका संयोजक विपाना तामाङले जानकारी दिइन् ।

तामाङका अनुसार चालु आर्थिक वर्षमा मात्रै धवलागिरिका तीन जिल्लाबाट २७ सडक मानवको उद्धार गरिएको बताइन् । हाल आश्रममा ४९ बेसहारा तथा सडक मानव आश्रित रहेको बताउँदै तामाङले चालु आर्थिक वर्षमा छ जनाको पुनःमिलन, तीन जनाको मृत्यु र स्वेच्छिक १२ जनाले छाडेको बताइन् ।

‘अहिले सडक मानव विरलै देखिन्छ, कतैबाट खबर आए सुरक्षा निकाय र जनप्रतिनिधिको पहलमा तत्कालै सडक मानवको उद्धार गरिहाल्छौँ । बागलुङ जिल्लालाई सडक मानवमुक्त घोषणा गर्ने अभियानमा सफलता पाइरहेका छौँ, कतिपय सडकपेटीमा बसेर ज्याला मजदुरी गर्नेहरू हुनुहुन्छ, उहाँहरूलाई आश्रममा सुविधा हुन्छ जाउ भनेका छौँ’, तामाङले भने, ‘छ वर्षमा झन्डै ४ सय सडक मानवको उद्धार भइसकेको छ, यहाँ आश्रितको सङ्ख्या धेरै भएमा अन्यत्र आश्रममा स्थानान्तरण गर्ने गरेका छौँ ।’

आश्रममा रहेका ८० प्रतिशत आश्रित मानसिकरूपमा असन्तुलन भएका छन् भने २० प्रतिशत शारीरिक अपाङ्गता भएका छन् ।’ उनीहरूलाई सकेसम्म पुनःमिलनमा जोड दिइएको आश्रममा अभिभावक शिव खड्काले बताए ।

‘उद्धार गरेर ल्याएका सडक मानव कतिपय पुरानै अवस्थामा पुगेका हुन् । ‘घरपरिवारसँग पुनःमिलन गराएका छौँ, कतिपय घरबाट भागेर सडकमा पुगेका, मानसिक रोगका कारण सडकमा पुगेका हुन्छन्, उनीहरूको उपचारपछि घर फर्केका थुप्रै उदाहरण छन्’, खड्काले भने, ‘हाम्रो कल्पना सडक मानवमुक्त हो, अहिले हदैसम्म प्रभावकारी बनेको छ, अहिले कतै सडकमानव देखेमा खबर गर्छन्, नागरिकहरूले समेत मानव सेवा आश्रमलाई गरेको आर्थिक, भौतिक र नैतिक सहयोगका कारण आश्रमले छ वर्षमा यति धेरै काम गर्न सफल भएको हो ।’

आश्रममा सहयोगापेक्षी तथा बेसहारा सडकमानवको सङ्ख्यामा वृद्धि हुँदै गएकाले सडकमा सडकमानव कम देख्न पाइएको छ । दाताको भरमा चल्दै आएको आश्रममा आश्रितको सङ्ख्या बढ्दै गएपछि आवास व्यवस्थापनका लागि समस्या भोगिरहेको आश्रमले जनाएको छ ।

आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा रु १२ करोड लागतमा सात रोपनी जग्गामा आश्रमको भवन बनिरहेको छ । भवन सम्पन्नपश्चात् एक सय ५० देखि दुई सय सडक मानवलाई आश्रय दिन सकिने मानव सेवा आश्रमका अभिभावक निर्मल श्रेष्ठले बताए। हालसम्म आश्रम पुण्यतिथि, जन्मदिन, चौरासी पूजा र व्रतबन्धनजस्ता सामाजिक तथा धार्मिककार्यको अवसरमा प्रदान गरेको खाद्यान्न र नगदबाट सञ्चालित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस