मुलुक ठुलो आर्थिक सङ्कटको डिलमा उभिएको छ : धनराज गुरुङ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

मुलुक ठुलो आर्थिक सङ्कटको डिलमा उभिएको छ : धनराज गुरुङ


११ चैत्र २०७९, शनिबार


हेटौँडा । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक सङ्कटको डिलमा उभिएको बताएका छन् ।

शनिबार हेटौँडामा आयोजित नेपाल शिक्षक सङ्घ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रम उनले मुलुकलाई त्यो अप्ठ्यारो स्थितिबाट मुक्त गर्न काँग्रेसले नेतृत्व गर्ने बताएका हुन् ।

उनले भने, ‘मुलुकले भोगिरहेको चरम आर्थिक सङ्कटबाट बाहिर निकाल्न सकेनौँ भने हामी नालायक उनेछौँ । नालायकहरूले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गइरहनुपर्छ भन्ने मलाई लाग्दैन । इतिहासमा काँग्रेसलाई नालायक बन्न दिन्नौँ भन्ने पनि उत्तिकै हामीसँग प्रण छ । उत्तिकै योजना, दृष्टिकोण पनि छ ।’

राजनीतिक तरलता छ भनेर काँग्रेसलाई छुट नहुने उपसभापति गुरुङले बताए । अहिलेको १० राजनीतिक दललाई नेतृत्व गरेर ५ वर्षसम्म स्थायी सरकार चलाउने हिम्मत काँग्रेसले राखेको उनको भनाइ छ । सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट अरु पार्टीलाई भए पनि काँग्रेसबाट मन्त्री बन्नेहरूलाई छुट नहुने उनले तर्क प्रस्तुत गरे ।

मुलुकमा आर्थिक समस्या भइरहेका बेला विदेशबाट आयात गरिएका खादा, माला प्रयोग नगर्न उनले अनुरोध गरे । कार्यक्रममा उनले माला लगाउन समेत मानेनन् ।

उनले भने, ‘केही समयपछि शिक्षक साथीहरूले तलब पाउनुहुन्छ कि हुन्न मलाई थाहा छैन । गुरुले व्यवहार रुपी ज्ञान पनि दिनुपर्छ । बाहिरबाट आएका माला÷खादा लगाउँदिन भन्ने प्रतिबद्धता गर्नुस् । आर्थिक सङ्कट छ । मोचन गर्नुछ । फजुल खर्च गर्नुहुँदैन । त्यो ज्ञान मैँले तपाईँहरूबाट पाउनुपर्छ ।’

संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन पहल गर्ने गुरुङले प्रतिबद्धता जनाए । उनले राम्रो भएको सामुदायिक विद्यालयलाई पछ्याउने काम गर्न शिक्षकहरूलाई अनुरोध गरे । हरेक पालिकाले अब एउटा नमुना विद्यालय बनाउनुपर्ने उनको सुझाव थियो ।

नमुना विद्यालय कस्तो हुनुपर्छ भन्ने उदाहरण दिँदै उनले भने, ‘ठ्याक्कै नाम लिनुपर्दा बुढानीलकण्ठ स्कुल जस्तो । त्यहाँ ३३ प्रतिशतले निःशुल्क पढ्छन्, ६७ प्रतिशतले सशुल्क । सशुल्क कसले पढिरहेको छ, निःशुल्क कसले पढिरहेको छ थाहा हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस