व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गरौँ: उपाध्यक्ष पाण्डे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गरौँ: उपाध्यक्ष पाण्डे


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन्।

बिहीबार सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले नेपालीहरू स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोहरूले स्वदेशी उत्पादन चलाउनुपर्छ भन्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

उनले विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौँ व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरूले स्वदेशमा नै उत्पादित सामग्रीहरूको प्रयोग बढाउनुपर्ने बताए ।

पाण्डेले नेपालीहरूले आफ्नै देशमा उत्पादित सामग्रीहरूको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउने दाबी गरे।

उनले भने, ‘सामुदायिक रेडियोहरूलाई बचाइराख्नुपर्छ। यसमा साथ सहयोग दिन म तयार छु। रेडियोसँग सम्बन्धित ऐन बनाउँदा यो ऐनबाट तपाईँहरूलाई माया गर्नुपर्ने ठाउँ खोज्दा म त्यसको साथमा अग्र पङ्क्तिमा रहनेछु । आज हामी हाम्रो स्वदेशी उत्पादनलाई माया गर्ने कुरामा ध्यान दिन जरुरी छ। हामी व्यापार घाटामा खर्बौँ रुपैयाँ घाटामा जाने गर्दछौँ। हाम्रो आफ्नो उत्पादन हामी वृद्धि गर्न सक्दैनौँ। विदेशी उत्पादन प्रयोग गर्छौँ तर सामुदायिक रेडियोहरूले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने अभियान प्रचार गर्नुपर्छ।’

उपाध्यक्ष पाण्डेले रेडियोसँग सम्बन्धित ऐन बनाउँदा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस