गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी


२६ फाल्गुन २०७९, शुक्रबार


दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन् ।

गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लागेकी हुन् । ‘दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रा पालन सुरु गरेकी थिएँ’, उनले भने, ‘अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ ।’

जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताइन् । मल उत्पादनका लागि उनले बाख्रा पालनसमेत गरेकी छन् । रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन् । ‘रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ ।’ उनले भनिन्, ‘केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे ।’

पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारी खेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशी बताउछिन्। ‘अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन’, उनले भनिन्, ‘तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन् ।’ उनले मल र बाख्राबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी हुने गरेको बताइन् ।

गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताइन् । ‘कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ’, उनले भनिन्, ‘बेला–बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन ।’ गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ । यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ । गड्यौला मल प्रतिकिलो रु ३५ का दरले बिक्री हुने गरेको जोशीले बताइन् ।

उनले भनिन्,’गड्यौला प्रतिकिलो रु तीन हजारका दरले बिक्री हुन्छ ।’ जोशीले गड्यौला र मल दुवै बिक्री गर्दै आएकी छन् । पछिल्लो समय यहाँका अन्य किसानले पनि गड्यौला मलको उत्पादन गर्न थालेका छन् । ‘यसमा धेरै मेहनत लाग्दैन, एकपटक गड्यौला ल्याएर राखे पुग्छ’, जोशीले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस