रेमिट्यान्स कम्पनीलाई हरेक तीन दिनमा विवरण पठाउन निर्देशन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रेमिट्यान्स कम्पनीलाई हरेक तीन दिनमा विवरण पठाउन निर्देशन


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । वित्तीय लगायत रेमिट्यान्स कम्पनीका सम्पूर्ण गतिविधि सम्बन्धी विवरण बुझाउन राष्ट्र बैंकले समयसीमा तोकेको छ । राष्ट्र बैंकको गैर बैंक सुपरिवेक्षण विभागले परिपत्र जारी गरी रेमिट्यान्स कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो । 

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली ०७९ को व्यवस्था बमोजिम कम्पनीका गतिविधि सम्बन्धी विवरण पठाउन राष्ट्र बैंकले तीन दिनदेखि १५ दिनसम्मको समयसीमा तोकेको छ । यसअघि विवरण बुझाउनकै लागि यस्तो समयसीमा तोकिएको थिएन ।

नयाँ व्यवस्था अनुसार अब रेमिट्यान्स कम्पनीहरूले दैनिक विवरण हरेक ३ दिनमा, मासिक विवरण महिना सकिएको सात दिनभित्र, त्रैमासिक र वार्षिक विवरणका लागि अवधि सकिएको १५ दिन भित्र तोकिएको विवरण राष्ट्र बैंक समक्ष बुझाइसक्नु पर्नेछ ।

रेमिट्यान्स कम्पनी आफैले वा सब-एजेन्ट तथा सब-रिप्रिजेन्टेटिभहरु मार्फत गरेको इनवार्ड रेमिट्यान्सको भुक्तानी विवरण अंग्रेजी महिना अनुसार मासिक रूपमा पठाउनु पर्छ । तर, कम्पनीले यस्तो मासिक विवरण महिना सकिएको सात दिनभित्र राष्ट्र बैंकमा बुझाउनु पर्ने व्यवस्था परिपत्रमा छ । रेमिट्यान्स कम्पनीहरूले अब कारबाही गरेका सब एजेन्ट तथा सब रिप्रिजेन्टेटिभहरुको विवरण पनि राष्ट्र बैंकलाई बुझाउनु पर्ने छ । यसका लागि अंग्रेजी महिना अनुसार नै मासिक विवरण बुझाउनु पर्ने निर्देशनमा उल्लेख छ । यस्तो विवरणका लागि कम्पनीहरूले अंग्रेजी महिना सकिएको एक साताको समय पाएका छन् । राष्ट्र बैंकले कम्पनीको सञ्चालक समितिको वार्षिक विवरण १५ दिनभित्र र हेरफेर भएमा ७ दिन विवरण पठाउन कम्पनीहरूलाई निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस